ताइवानलाई घृणा गर्ने चिनियाँले अमेरिकाको चर्चमा अन्धाधुन्ध गोली हान्दा एक जनाको मृत्यु

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ४८


काठमाडौं। अमेरिकाको दक्षिण क्यालिफोर्नियाको एउटा चर्चमा आइतबार एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको थियो भने सो घटनामा चारजना गम्भीर घाइते भएका थिए।

भ्वाइस अफ अमेरिकाका अनुसार सो घटनामा गोली चलाउने व्यक्ति चिनियाँ आप्रवासी हुन्। उनले ताइवानलाई घृणा गर्ने गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ।

ताइवानका आप्रवासीले प्रार्थना गर्ने चर्चमा खानपिन कार्यक्रमको आयोजना गरिएको थियो। त्यसकै मौकाछोपी अमेरिकाको नागरिकता भएका चिनियाँ आप्रवासीले भिडलाई लक्षित गरेर गोली चलाएका थिए।

सो घटनामा ताइवानका ५२ वर्षीय आप्रवासी डाक्टर जोन चेङको मृत्यु भएको बताइएको छ। आक्रमणकारी घृणित राजनीतिबाट प्रेरित भएको बताइएको छ।

चीनले ताइवानलाई आफ्नो प्रान्त मान्छ। यद्यपी आफ्नै शासन प्रणाली र संविधान भएको ताइवानले चीनको कुनैपनि भनाइ स्वीकार्दैन।

चीनको चाहना विपरित पछिल्लो समय ताइवान अमेरिकासँग व्यापार तथा कूटनीतिक सम्बन्ध बढाइरहेको छ। चीनले सो क्रममा ताइवानलाई आक्रमण गरेरै चीनमा गाभ्ने चेतावनी दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्