तिलोत्तमामा मतगणना रोकियो

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : १९


बुटवल । मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ।

कांग्रेसले मतगणनामा एमालेनिकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्न लागेको आरोप लगाउँदै आएको छ।

अहिले मतगणना स्थल बाहिर कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।

उनीहरूले जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारी चढेको गाढीमा ढुंगा प्रहार समेत गरेका थिए। वडा नम्बर १६ र २ को मतगणना भइरहेकोमा मत संख्याबाहिर सार्वजनिक गर्ने बेलामा वास्तविक मतभन्दा एमालेको धेरै मत बताएको नेपाली कांग्रेसको आरोप छ।
निर्वाचन कार्यालयले भने मत गणनाको मत संख्या गणक र दलका प्रतिनिधिबाट हस्ताक्षर गराएर मात्रै राख्ने गरिएको जनाएको छ।

एमालेले भने नेपाली कांग्रेसले विगतमा जितेका वडाहरूमा पराजय हुने अवस्था देखिएपछि मत गणना बिथोलेर निर्वाचन जित्ने दाउमा रहेको जनाएको छ।

‘आफूहरूले निर्वाचन हार्दै जान थालेपछि गृहमन्त्रीको आडमा राज्यसत्ता र शक्तिको प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्न कांग्रेसले अनेक दाउ गरी रहेको छ’ एमालेका नगरप्रमुख उम्मेदवार मोहन चापागाईले भने।

तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रामकृष्ण खाण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाई हुन्।

मत गणनापछि संख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिकाबीच मत संख्यामा फरक पर्न गएकोले वास्तवित तथ्यांक हेरी गणना अगाडि बढाउने समहति भएको निर्वाचन अधिकृत माधव लोहनीले बताए। मतगणना सूचारु गर्ने सहमति भएको छ। केही बेरमा गणना सुरु हुन्छ’ लोहनीले भने।


प्रतिक्रिया दिनुहोस्