काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । सोमबारदेखि बुधबारसम्म काठमाडौंमा बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा सशक्त आवाज उठाउने, सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराए नगराएबारे मिडिया हाउसहरुमा अनुगमन गर्ने, श्रमजीवी पत्रकारहरुका हकहितको बिषयमा संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने, देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा विचार–गोष्ठी, छलफल, अन्तरक्रिया, प्रदर्शनलगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी चौथो राष्ट्रिय सम्मेलनको तयारीका लागि एसोसिएट, प्रतिष्ठान, प्रदेश र जिःलाहरुको भेला, सम्मेलन आगामी चैत्र मसान्तसम्म सम्पन्न गर्ने, देशव्यापीरुपमा ‘दुई महिने संगठन सुदृढ तथा शुद्धिकरण अभियान’ संचालन गर्ने र देशका ७ वटा प्रदेश र उपत्यकासहित ८ वटा प्रदेश (व्यूरो)का संयोजक र सदस्यहरुको जिम्मेवारी ठोस गर्ने निर्णय समेत गरेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सीमा अतिक्रमण, राष्ट्रियता, जनतन्त्र, जनजीविका, प्रेस तथा नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र श्रमजीवी पत्रकार, मजदुरका हकहितलगायतका बिषयमा देशका सातै प्रदेशका विभिन्न शहरहरुमा छलफल, गोष्ठी, अन्तरक्रियासहित संघर्षका कार्यक्रम गर्ने तथा नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा हुने आगामी निर्वाचनमा भाग लिने र त्यसको तयारीका लागि अन्य संघ÷संगठनहरुसँग मोर्चाबन्दीका लागि छलफल गर्ने साथै त्यसका लागि मातहतका सबै निकायले आवश्यक पहल लिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले संगठनको तेस्रो राष्ट्रिय सम्मेलनदेखि हालसम्म क्रान्तिकारी पत्रकार संगठन, नेपालका पदाधिकारी र केन्द्रीय सदस्यहरुले देशव्यापी रुपमा गैरकानुनी गिरफ्तारी, धरपकड र राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरुसँग भेटघाट र उनीहरुको न्यायका लागि कानुनी प्रक्रियामा सहजीकरणसहित खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राष्ट्रियता, जनजीविका, जनतन्त्रका पक्षमा र दलाली, भ्रष्टाचार, कमिसनखोर, कर छलीलगायतका विकृतिबिरुद्ध संघर्ष गर्ने, राजनीतिक शक्तिमाथि सरकारले गरेको गैरसंबैधानिक प्रतिबन्धका बिरुद्ध विभिन्न छलफल अन्तरक्रिया गरी परिवर्तनका पक्षमा पहल लिएको निष्कर्ष निकालेका छन् ।