रोल्पाका छ पालिकामा माओवादी र दुईमा कांग्रेस विजयी

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १ : ४१


रोल्पा । रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ, भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादीका सुरेन्द्र थापा घर्तीले ७६०३ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका थिए । उपप्रमुखमा माओवादीका गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पा श्रेष्ठले तीहजार ७१९ मत प्राप्त गरेकी छन् ।

दसवटा वडा रहेको रोल्पा नगरपालिकामा माओवादीले नौ वटा वडामा जितेको छ । नगरपालिकाको एउटा वडा भने नेपाली कांग्रेसले जितेको छ ।

थवाङ गाउँपालिका माओवादी विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले दुईहजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो । उपाध्यक्षमा माओवादीका सर्मिला बुढामगर दुईहजार १२२ मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरेका थिए । थवाङमा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।

त्यसैगरी परिवर्तन गाउँपालिकामा माओवादीका शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादीका कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरिन् । सो गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।

रुन्टीगढी गाउँपालिकामा कांग्रेसका जनक पुनले ४३९१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३७०८ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसका सरिता केसी निर्वाचित भएकी छन् । उनले चार हजार ४३७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कौशिला घर्ती क्षेत्रीले ३७०८ मत प्राप्त गरेकी थिइन्। माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा माओवादीका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भएकी छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत ल्याएका छन्। जिल्लामा १ नगरपालिकासहित ९ गाउँपालिका रहेको छ ।


प्रतिक्रिया दिनुहोस्