जोनी डेपमाथि एम्बर हर्डको आरोपः सुहागरातकै दिन ममाथि कुटपिट भयो

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १ : २८


काठमाडौं। ‘पाइरेट्स अफ दी क्यारेबियन’ चलचित्रका हलिउड स्टार अभिनेता जोनी डेपलाई पूर्वपत्नी एम्बर हर्डले यौन दुर्व्यवहार र घरेलु हिंसाको आरोप लगाएकी छिन्।

यतिबेला यो यौन दुर्व्यवहारको घटनाले हलिउड तरंगित छ। जोनीजत्तिकै चर्चित अभिनेत्री हुन् एम्बर हर्ड। जसकारण विश्वमा यो घटनाको दैनिक चर्चा भइरहेको देखिन्छ।

जोनी डेप र एम्बर हर्डको भेट हलिउड फिल्म ‘द रम डायरी–२०११’को सेटमा भएको थियो। सन् २०१२ मा दुवैजना प्रेममा रहेको खबर बाहिरियो र सन् २०१५ मा दुवैले विवाह गरे।

तर विवाह भएको १५ महिना पनि नबित्दै अभिनेत्री एम्बर हर्डले आफ्नो अनुहारमा लागेको चोटका दागहरु सहित जोनी डेपसँग सम्बन्ध बिच्छेदका लागी निवेदन दिइन्।

सन् २०१८ मा एम्बर हर्डले आफू घरेलु हिंसाको शिकार भएको भन्दै वाशिङ्टन पोष्ट पत्रिकामा एउटा लामो लेख लेखेकी थिइन्। त्यस लेखमा कसैको नाम नखुलाइएको भएता पनि अभिनेता जोनी डेपले उक्त लेखले उनको मानहानी भएको र प्रोफेसनल करियरमा पनि असर गरेको भन्दै आफ्नी पूर्वपत्नी एम्बर हर्ड विरुद्ध ५० मिलियन डलर बराबरको मानहानी मुद्दा दर्ता गरे।

बदलामा डेपविरुद्ध एम्बर हर्डले १०० मिलियन डलरको केस दर्ता गरिन्।

अहिले यस मुद्दामा अमेरिकी अदालतमा बहस जारी छ। दुवै पक्षबाट प्रमाणहरु संकलन भइरहेका छन् भने बयान पनि लिनेक्रम जारी छ।

अभिनेत्री हर्डले सो क्रममा अभिनेता डेपले विवाह लगत्तै हत्या गर्ने धम्की दिएको र मदिराको बोतल लिएर यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाएकी छिन्। उनका अनुसार जोनी डेपले सुहागरातकै दिन उनीमाथि कुटपिट गरेका थिए।

जोनी डेप लागूऔषधको दुव्र्यसनीमा रहेको, उनमा ईर्ष्यालु स्वभाव भएको पनि हर्डको आरोप छ।

विवाह लगत्तै सन् २०१५ मा अष्ट्रेलियामा भएको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म छायांकनको बेला आफू पूर्वपतिलाई भेट्न अष्ट्रेलिया पुगेको र त्यहाँ एक महिना बिताएको समेत हर्डले उल्लेख गरेकी छन्।

पहिलो साँझ डिनरको बेला डिपसँग भनाभन भएको उनले बताइन्। त्यसक्रममा मदिरा पिएका डेपले आफूलाई रेफ्रिजेरेटरतर्फ धकेलेको र घाँटी थिचेको समेत उनले बताइन्।

५८ वर्षीय अभिनेता डेपविरुद्ध केही सातादेखि लस एन्जलस अदालतमा यौन दुर्व्यवहारको मुद्दा चलिरहेको छ। मे १६ को बयानको शृंखलाका क्रममा हर्डले डेपले कुटपिट गरेको, यौन दुव्र्यवहार गरेको बताएपनि डेपले आफू नै श्रीमतीबाट कुटिने गरेको उल्लेख गरेका छन्। मुद्धाको अन्तिम फैसला मे २७ मा हुनेछ।


प्रतिक्रिया दिनुहोस्