मकवानपुर । अपहरणमा परेका काठमाडौं टोखा नगरपालिका-३ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका ५ घर भएका २१ वर्षीय नरेश थापा मगरलाई बुधबार दिउँसो प्रहरीले सकुशल उद्धार गरेको छ।
मोबाइलको कल लोकेशनका आधारमा मगरलाई ८ घण्टापछि प्रहरीले उद्दार गर्न सफल भएको हो।
साथै अपहरणमा संलग्न रहेको अभियोगमा ५ जनालाई हेटौंडा उपमहानगरपालिका ९ लामसुरेबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका ६ बस्ने २४ वर्षीय किसन गुरुङ, सोही ठाउँ बस्ने २९ वर्षीय आशिक लामा, काठमाडौं महानगरपालिका ३ बानेश्वर बस्ने धनगढी घर भएका २४ वर्षीय आशिष सिजापती, कन्चनपुर श्रीपुर गाउँपालिका ६ बस्ने २९ वर्षीया सुनिता धामी र मकवानपुर हेटौंडा उपमहानगरपालिका ९ लामसुरे बस्ने चितवन मेघौली घर भएकी ३६ वर्षीया सरस्वती तामाङ रहेका छन् ।
बुधबार बिहान अमलेखगंजबाट काठमाडौं जान भनी हेटौंडातर्फ जाँदै गरेको बा २ ज ५९५ नम्बरको ट्याक्सीमा सवार मध्येका मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका व्यक्तिहरूले अपहरण गरेको र काठमाडौं महानगरपालिका-४ बस्ने काभ्रे मंडल देवपुर नगरपालिका-९ घर भएका २८ वर्षीय सरोज सापकोटालाई कुटपिट गरेको भन्ने सूचना पाएपछि प्रहरी खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरीले मगरलाई हेटौंडा उपमहानगरपालिका ९ लामसुरेस्थित सरस्वती तामाङको घरमा बन्धक बनाइरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो।
अपहरणमा संलग्न उनीहरूलाई अपहरण कार्यमा प्रयोग गरिएको ट्याक्सी सहित पक्राउ गरी उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनामा संलग्न फरार रहेका अन्य ४ जना व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।