राजा महेन्द्रले पोखरामा बनाएको दरवार खुल्ला गरिँदै

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  १० : २५


पोखरा । पोखराको लेकसाइडमा रहेको ‘रत्न मन्दिर’ सर्वसाधारणका लागि खुला गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा फेवा किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने तयारीमा गण्डकी प्रदेश सरकार लागेको छ । 

नेपाल ट्रष्टको स्वामित्वमा रहेको रत्न मन्दिर यही पुष १६ गते अर्थात जनवरी १ तारिखका दिन भ्रमण वर्षका अवसरमा खुलाउने गण्डकी प्रदेश सरकारको योजना छ ।

नेपालमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्र आएपछि राज परिवारको नाममा रहेका सम्पति नेपाल ट्रष्टमा ल्याउँदा पोखराको रत्न मन्दिरपनि ट्रष्टको मातहतमा आएको थियो । नेपाल ट्रष्टमा आएपनि रत्न मन्दिर हालसम्म सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्न मन्दिर, प्रदेश सरकार अथा महानगरपालिकालाई ट्रस्टले नै आग्रह गरेपछि प्रदेश सरकार रत्न मन्दिर खुलाउने तयारीमा लागेको गण्डकी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए।

मौखिक सहमतिअनुसार आगामी पुस १६ अर्थात भ्रमण वर्षको उद्‌घाटन कार्यक्रम नै रत्न मन्दिरमा गर्ने तयारीमा प्रदेश सरकार लागेको छ ।

‘क्याबिनेटबाट निर्णय भएर आउँनु पर्छ, मौखिक सहमति त भई सकेको छ,’ उनले भने, ‘हामीले यसरी सञ्चालन गछौँ भनेर आवश्यक तयारी थालेका छौँ । यताबाट हामीले पठाई सकेपछि क्याबिनेटबाट स्वीकृत भएर आउँछ ।’

पोखरा महानगरपालिका र प्रदेश सरकारमध्ये एकले सञ्चालनको जिम्मा लिने उनले जानकारी दिए । तर, रत्न मन्दिरको व्यवस्थापन र संरक्षणको जिम्मा भने नेपाल ट्रस्टले नै लिने छ ।

भिजिट नेपाल २०२० लाई लक्षित गरेर रत्न मन्दिर खुल्ला गर्न लागिएको र यसले पर्यटकको बसाइ लम्ब्याउन मद्दत पुग्ने मन्त्री लम्सालले बताए । रत्न मन्दिर खुल्ला गरिएपनि त्यस भित्रको दरबारमा भने तत्काल प्रवेश दिइने छैन । यस दरबारमा यसअघि राज परिवारका सदस्यहरू आएर बस्ने गर्दथे ।

रत्न मन्दिर खुल्ला गराउन गण्डकी प्रदेश सांसद राजिव पहारीले निरन्तर पहल गर्दै आएका थिए । उनले रत्न मन्दिर र हिमागृह पोखराको गहना भएकाले यसलाई खुल्ला गराएर पर्यटकको बसाइ लम्ब्याउनु पर्नेमा जोड दिदैँ आएका छन् ।

रत्न मन्दिर खुल्ला भएमा कम्तिमा पनि पर्यटकको आधा दिन बसाइ लम्बिने उनको दाबी छ । रत्न मन्दिर खुलाउने कुरा स्वागत योग्य छ,‘ उनले भने, ‘यसले पर्यटकको बसाइ लम्ब्याउन सघाउँछ ।’ रत्न मन्दिरसँगै हिमागृह पनि खोल्नुपर्ने उनले बताए । यस अघिनै सांसद पहारीले सांसद विकास कोषको रकमबाट फेवाताल जलाधार तथा रत्न मन्दिर संरक्षणका लागि भनेर २५ लाख छुट्याएका छन्।

भ्रमण बर्ष सफल पार्न ५६ सदस्यीय समिति

गण्डकी प्रदेशमा भिजिट नेपाल २०२० को लागि ५६ सदस्यीय समिति नै गठन गरिएको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको संयोजकत्वमा बनाइएको समितिले भिजिट नेपाल २०२० लाई सफल पार्नका लागि काम अघि बढाएको छ ।

नेपाल सरकारले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० लाई सफल पार्नु समितिको मुख्य उद्देश्य रहेको भिजिट नेपाल २०२० का गण्डकी प्रदेशका सह-संयोजक अग्नि कँडेलले जानकारी दिए ।

‘पर्यटन उद्योगलाई कसरी विकास गर्न सकिन्छ, बढी भन्दा बढी पर्यटक नेपालमा कसरी भित्राउन सकिन्छ, पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यको बजारीकरण विश्व बजारमा कसरी गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर नेपाल सरकारले भिजिट नेपाल २०२० को आयोजना गरेको छ;’ उनले भने । ‘हामी पनि नेपाल सरकारको सोही लक्ष्यलाई सफल पार्न लागि परेका छौं,’।

२० लाख पर्यटक भित्राउने सरकारको योजना सफल पार्न सातै प्रदेशबाट काम थालिएको उनले सुनाए । सरकारी र निजी क्षेत्रसँगको सहकार्यमा भ्रमण वर्ष सफल पार्न तयारी थालिएको बताउँदै भ्रमण वर्षको उद्‌घाटन कार्यक्रममा गण्डकी प्रदेशका एघारै जिल्लाको सहभागिता रहने उनले सुनाए ।

‘सबै जिल्लाबाट सांस्कृतिक झाँकी, त्यहाँको सांस्कृतिक गतिविधिलाई प्रस्तुती राख्ने प्रयास गरेका छौं,’ उनले भने, ‘एघारै जिल्लाका उत्कृष्ट पर्यटकीय गन्तव्यलाई भिजिट नेपाल २०२० को माध्यमबाट कसरी बाहिर ल्याउन सक्छौं भनेर छलफल गर्ने छौं ।’

प्रवेश शुल्क तोक्ने तयारीमा ट्रष्ट

रत्न मन्दिर प्रवेशका लागि टिकटको ब्यवस्था गर्ने तयारी गरिएको छ । तर कति टिकटदर राख्ने भन्ने तय भइनसकेको बताइएको छ। प्रवेश शुल्क वापत टिकटदर ५० वा १०० राख्ने तयारीमा ट्रस्ट लागिपरेको छ । यसबारे निर्णय हुन बाँकी छ । अब शुल्कका बारेमा छिट्टै निर्णय गरिने ट्रष्टले जनाएको छ। रत्न मन्दिरको व्यवस्थापन नेपाल ट्रष्टकै कर्मचारीले गर्ने योजना छ। नेपाल ट्रष्टको पोखरा कार्यालयमा हाल ११ जना कर्मचारी रहेका छन् । अहिले ट्रस्ट आफैले हेरे पनि पछि प्रक्रिया पु¥याएर जिम्मेवारी सुम्पने योजनामा ट्रष्ट छ। 

राजा महेन्द्रले पोखरामा किन बनाए दरवार ?

राजा महेन्द्रले विस. २०१४ सालमा पोखराको लेकसाइड गौरीघाटस्थित फेवाताल किनारामा रत्न मन्दिर बनाएका थिए । उनले आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा बस्नका लागि बनाएका थिए । उनको मृत्युपछि यस रत्न मन्दिर स्वर्गीय राजा विरेन्द्र शाहको नाममा रहेको थियो ।

कुनै समय तत्कालीन राजा महेन्द्र १३ महिनासम्म यही दरबारमा बसेको बताइन्छ । प्यागोडा शैलीमा बनाइएको दरबारको भित्रका संरचना ढुङ्गामै कुँदिएका आकर्षक कलाले सजाइएको छ ।

दरबार भएपनि नेपाली कलाकृति झल्काउने संरचना रत्न मन्दिरमा देख्न सकिन्छ । १७७ रोपनी क्षेत्रफल रहेको रत्न मन्दिरको अग्र भागमा खुल्ला क्षेत्र रहेको छ । त्यसको पूर्वी गेटतर्फको भागमा फेवा तालमा बोटिङफिसिङ गर्न मिल्ने क्षेत्र रहेको छ ।

बसुन्धरा पार्कबाट तालबाराही मन्दिर जाने बाटोको बिचमा रहेको रत्न मन्दिरलाई अहिले पनि कडा सुरक्षा दिएर राख्ने गरिएको छ । अग्लो पर्खालले घेरिएको मन्दिरलाई नेपाली सेनाले सुरक्षा दिदैँ आएको छ ।


प्रतिक्रिया दिनुहोस्