उत्तर कोरियामा १० लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएको आशंका, सेना परिचालन

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : ०२


काठमाडौं। कोरोना प्रकोप उच्च विन्दुमा पुगेका बेला उत्तर कोरियामा एक जनामा पनि कोरोनाको संक्रमण देखिएको थिएन।

त्यहाँको सरकारले आफ्नो देशमा एक जनामा पनि कोरोनाको संक्रमण नभएको बताएको थियो।

तर यतिबेला विश्वभर कोरोनाको खतरा कम भएको समयमा भने उत्तर कोरियामा कोरोनाको खतरा बढेको देखिएको छ।

पछिल्ला दिनहरुमा उत्तर कोरियाले केही व्यक्तिमा कोरोना देखिएको औपचारिक जानकारी नै दिएको छ।

यस क्रममा नयाँ ज्वरोका कारण दश लाभन्दा बढी मानिस बिरामी परेको पनि त्यहाँको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

यद्यपी ती सबै कोरोनाबाट संक्रमण भएको विश्वले आशंका गरेको छ। त्यहाँका अधिकारीहरुका अनुसार नयाँ रोगले ५० जनाको केही दिनमै मृत्यु भइसकेको छ।

उत्तर कोरियामा स्वास्थ्य संरचना धेरै राम्रो नभएका कारण पनि त्यहाँ रोग लागेका मानिसले प्रताडित हुनुपर्ने अवस्था छ। यदी हाल भनिएको नयाँ रोग कोरोना हो भने उत्तर कोरियामा भयावह अवस्था निम्तने स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

हाल सर्वोच्च नेता किम जोङ उनले देशभर लकडाउन गर्ने विचार गरिरहेको बीबीसीले जनाएको छ। यस्तै त्यहाँ कोरोना तथा नयाँ भनिएको रोग नियन्त्रण गर्न ठाउँठाउँमा सेना परिचालन गरिएको छ।

सेनाहरुले स्वास्थ्य सामग्रीको ढुवानीका साथै बिरामीलाई अस्पताल लैजान मद्दत पुर्याउनेछन्।

रोग नियन्त्रण गर्न कमजोर कदम चालेको भन्दै उत्तर कोरियाली नेता किम जोङ उनले स्वास्थ्य अधिकारीहरूको आलोचना पनि गरेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्