बालेनले जित्छन कि हार्छन भन्दै २८ किलोको खसी बाजी लगाउने युवक पक्राउ

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : ४५


काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन शाहले प्रतिस्पर्धी भन्दा राम्रो मत ल्याएर लिड गरिरहेका छन्। यहि रफ्तारले गणना सकिन भने केहि समय लाग्ने भएको छ।

मतदान अघि नै उनले जित्छ कि हार्छ भन्दै धेरैलाई जिज्ञासा उत्पन्न भएको थियो। बालेनकै नाममा सट्टेबाजी पनि भएको पाइएको छ।

बालेनले जित्ने कि हार्ने भन्ने विषयमा बाजी राख्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ का रमेश खड्का र विजय फुयाल रहेका छन्।

हारजितलाई लिएर सट्टेबाज गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन्।

बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ । दुई युवाले अन्य तीन जनालाई रोहबर राखेर लिखित बाजी राखेको विषय सार्वजनिक भएको थियो । सो सट्टेबाज सम्बन्धी कागज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरीतको कार्य भएकाले उनीहरूलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए । ‘फलानोले जित्यो भने यती गर्छु, उति गर्छु भनेर बाजी राख्नु भनेको सट्टेवाज नै हो । यो गर्न पाइँदैन,’ लम्सालले भने, ‘सामान्य हिसाबले हेर्दा यो सामान्य विषयवस्तु हो तर कानुनका हिसाबले हेर्दा यो अपराध हो ।’


प्रतिक्रिया दिनुहोस्