बुढानिलकण्ठमा सात वडाको मतगणना सम्पन्न, प्रमुखमा एमालेको अग्रता

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १२ : ५५


काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।

सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले चार हजार ७३८ मत ल्याएर अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले चार हजार ५८७ मत ल्याएका छन् । उक्त नगरपालिकाको प्रमुखमा १५ को उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामाले पाँच हजार २४२ मत ल्याइ अग्रता लिएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेवार रमिला वाग्लेले पाँच हजार ५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।

बुढानिलकण्ठ–५ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कृष्ण शाह (ठकुरी) ५१४ मत ल्याई विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायण दुलालले ४८१ मत प्राप्त गरे ।

यस्तै, बुढानिलकण्ठ–६ मा एमालेका रवि खड्का ७२६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रह्लाद खड्काले ६९६ मत प्राप्त गरे । बुढानिलकण्ठ–७ मा पनि एमालेकै बमनारायण महर्जनले एक हजार १५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रामराजा महर्जनले ४७५ मत प्राप्त गरेका छन् । कुल ४८ हजार ३०४ मतदाता रहेको बुढानिलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । सो नगरपालिकामा १३ वडा छन् ।


प्रतिक्रिया दिनुहोस्