भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ०५


लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।

यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरे ।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए ।

मोदीको मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ। त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन्।

मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। पुजा र शिलान्यासको काम सकेपछि उनले पवन इन्टरनेसनल होटलमा राजनीतिक भेटघाट गर्ने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्