भोट मलाई किन नहालेको भन्दै कांग्रेस उम्मेदवारले सर्वसाधारणमाथि गरे कुटपिट

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ५६


जुम्ला । नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन्।

रोकायाले आफूलाई भोट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन्।

रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ। कुटाइबाट शाही घाईते भएका छन्। उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ।

रोकायाले कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । उजुरीमा उनीमाथि आवश्यक कारवाहीको माग गरिएको छ। पीडित शाहीले रोकायाले फोन गरेर काम छ भन्दै बोलाएर कुटपिट गरेको बताए। पछि फेरि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामुहिक कुटपिट गरेको प्रहरीमा दिएको उजुरी उल्लेख छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते कुमार विक्रम शाहीको घाउ केस जाँच गर्न अस्पतालमा पठाएको र अनुसन्धान भइरहेको बताए। जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टले यस विषयमा आफूलाई जानकारी नभएको बताए।


प्रतिक्रिया दिनुहोस्