संघीय संसद्को पाँचौँ अधिवेशन भोलिदेखि, के–के छन् कार्यसूची ?

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  २ : २४


काठमाडौँ । संघीय संसद्को पाँचौँ अधिवेशन भोलि (शुक्रबार) देखि सुरु हुँदै छ। 

अधिवेसनले भावी सभामुख चयन र सदनको कामकारबाही अगाडि बढाउने संसद् सचिवालयले जनाएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुष ४ गते अपरान्ह ४ बजेका लागि अधिवेशनको आह्वान गर्नुभएको हो। 

पहिलो बैठकको कार्यसूचीबारे सचिवालय गृहकार्यमा रहे पनि सभामुख चयनको विषयले औपचारिक रुपमा प्रवेश पाएको छैन्। शीर्ष तहमा अनौपचारिक रूपमा भने यस विषयमा छलफल भइरहेका छन्। 

हालको संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ। यसअघि तत्कालीन माओवादी केन्द्रबाट सभामुख र एमालेबाट उपसभामुख चयन भएका थिए। सभामुखको स्थान बीचमै रिक्त भएपछि पुनः चयन गर्नुपर्ने अवस्था छ। 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सभामुख नछोड्ने पक्षमा छ। जसका लागि अहिलेकी उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको राजीनामा गराउने तयारी नेकपाको छ। तर यस विषयमा औपचारिक परामर्श नभएको तुम्बाहाङ्फेको भनाइ छ। 

अधिवेशनको दिन शुक्रबार बिहान नै राजनीतिक दलहरूसँग अनौपचारिक रूपमा विषय, कार्यतालिकालगायतमा परामर्श गर्ने तयारी उपसभामुखको छ। राजनीतिक दलसँगको परामर्शका आधारमा कार्यतालिकालगायतका विषयले टुङ्गो पाउने छन्।

अधिवेशका अन्य कार्यसूची 
अधिवेशनको पहिलो दिन सामान्य कार्यसूची मात्र तय गरिएको छ। पहिलो दिन राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानका लागि प्रेषित पत्र वाचन हुने छ। यस्तै शहीदका नाममा मौनधारण र अधिवेशन नभएका अवधिमा निधन हुनुभएका पूर्वसदस्यहरूको शोक प्रस्ताव मात्र कार्यसूची रहने छन्। दलीय सहमति भएमा सभामुख चयनको कार्यतालिका सार्वजनिकका लागि निर्देशन हुने छ। 


प्रतिक्रिया दिनुहोस्