सिन्धुपाल्चोक । गत मङ्सिर २९ गते सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका स्वाँरामा १५ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा बाँचेकी सात महिनाकी बालिका बेसहारा बनेकी छन्।
बालिकाले केही खान नमानेपछि एक साताअघि सुत्केरी हुनुभएकी सुनकोसी गाउँपालिका–७ की सुनिता माझी अस्पताल पुगेर आफ्नो दूध चुसाउने गर्नुहुन्छ।
दुर्घटनामा परेकी यी बालिकालाई सिन्धु सदाबहार अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचार सकेपछि पनि कोही अभिभावक हुँ भनेर बालिकालाई लिन नआएपछि अहिले अस्पतालको संरक्षणमा राखिएको छ।
बा ४ ख ४४६८ नम्बरको मिनीबस दुर्घटनामा परी बाँच्न सफल यी दूधेबालिका अझै एक्ली छन्। बालिकाको नाम के हो ? कसैलाई थाहा छैन। उनका बाबु कहाँ छन् ? जानकारी छैन। आमाको सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
अस्पतालले नै बालिकाको रेखदेख गर्दै आएको छ। बोतलको दूध खान मान्दिनन् र उनलाई अन्य खानेकुरा खुवाउन पनि सकिएको छैन। बालिकाको स्वास्थ्य राम्रो रहेको बाल स्याहार कक्षमा राखिएको उक्त अस्पतालका नर्स लक्ष्मी विकले जानकारी दिनुभयो। नानीलाई आमाले दिने मातृत्वअनुरूप नै स्याहारसुसार गरेको नर्स विकले बताउनुभयो। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।