हाम्रो मातृभूमिमा विस्तारवादी खुनी नङ्ग्राहरु गढेको वर्षौं वर्ष बितिसक्यो । देशमा कैयौं सरकारहरु फेरिए । सरकार मात्र होइन, व्यवस्था नै बदलिए । तर आजसम्म देशको अभिभावक ठानिने कुनै पनि सरकारले मातृभूमिको छातीबाट त्यो विस्तारवादी खुनी नङ्ग्राको खिल निकालेर फयाँक्न सकेका छैनन् । अहिले पनि उस्तै पीडा दिइरहेका छन् कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता, महेशपुर र पशुपतिनगर लगायतका स्थानहरुमा विस्तारवादले हाम्रो मातृभूमिलाई दिएका घाऊहरुले । पटक–पटक बल्झिरहन्छ विस्तारवादले दिएको घाउको त्यो पीडा ।
देशमा अहिले ‘कम्युनिस्ट’ भनिने दुई तिहाईको बहुमत प्राप्त शक्तिशाली सरकार छ । लुटिएको मातृभूमिका भागहरु फिर्ता ल्याउनका लागि यो सरकारले गम्भीरतापूर्वक पहल गर्नेछ भन्ने जनअपेक्षा थियो । तर अघिल्लो कार्यकालमा भारतको अमानवीय नाकाबन्दीसामु नझुकेका, उत्तरी छिमेकी चीनसँग साहसपूर्वक पारवहन लगायतका सन्धि गरेका वर्तमान प्रम केपी शर्मा ओली र त्यही राष्ट्रवादी ‘छवि’ का कारण निर्वाचनमा अत्यधिक बहुमत ल्याएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा यसपटक त्यो गम्भीरता झल्कन अझै सकेन । हाम्रो भूमिलाई आफ्नोमा पारेर भारतले जाली नक्सा सार्वजनिक गरेको महिनौं बितिसक्यो । भारतले जारी गरेको उक्त जाली नक्साका विरुद्धमा देशविदेशमा रहेका नेपालीहरुले जनस्तरबाट व्यापक विरोध गरिरहेका छन् । भारतको विस्तारवादी नीतिका विरुद्धमा देशमा दिनहुँजसो आन्दोलनहरु भइरहेका छन् । तर “राष्ट्रवादी” छविबाट अत्यधिक बहुमतका साथ सत्तामा आसीन हुन पुगेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अहिलेसम्म यो समस्या समाधानार्थ कुनै ठोस कदम चाल्न सकेको देखिएको छैन । राजनीतिक र कुटनीतिक तवरबाट जुन ठोस एक्सन सरकारले लिनु पथ्र्यो, त्यो लिन सकेको छैन । बोल्न त प्रधानमन्त्रीले पनि बोलेका छन्– हाम्रो लुटिएको भूमि हामीले फिर्ता ल्याइछाड्छौं भनेर । तर बोलीअनुरुपको व्यवहार प्रष्टरुपमा देखिने र बुझिने गरी बाहिर आउन सकेको छैन अझै । सरकारले अहिलेसम्म पनि नेपाली भूमि समेत आफ्नोमा पारेर किन जाली नक्सा जारी गरियो ? भनेर भारत सरकारलाई औपचारिक रुपमा सोध्न सकेको छैन । लैनचौरमा रहेका भारतीय राजदूतलाई सिंहदरबार बोलाएर सोध्न सकेको छैन । कुटनीतिक पहल अगाडि बढाउन भनेर परराष्ट्रस्तरीय समिति त बनाएको भनिएको छ तर त्यो समितिले अझै कुनै ठोस काम अगाडि बढाएको थाहा छैन । यस विषयमा भारतसँग राजनीतिकस्तरमा वार्ता गर्न वरिष्ठ नेतालाई भारत पठाउने त भनियो तर अझै त्यस्तो वार्ता भएको थाहा छ्रैन । ‘राष्ट्रवादी’ ओली सरकारबाट आन्तरिक कुटनीतिक प्रयास गरिएकै छैन वा गरेर पनि भारतीय शासकहरुले टेरपुच्छर लगाएका छैनन् ? आगामी दिनमा यो रहस्यको पर्दा खुल्दै जाला ।
देशको अभिभावक मानिने सरकारले गुमेको नेपाली भूमि फिर्ता ल्याउन, नेपाली भूमिमा अड्डा जमाएर राज गरिरहेका भारतीय सेनाहरुलाई हटाउन कुनै ठोस पहल अगाडि नबढाए पनि स्वाभिमानी देशभक्त नेपालीहरुले भारतको विस्तारवादी नीतिका विरुद्धमा निरन्तर खबरदारी गरिरहेका छन् । सिमाविद्, परराष्ट्रविद, नदिविज्ञ लगायत सम्मिलित रहेका देशभक्त नेपालीहरुको एक समितिले नागरिक स्तरबाट नै नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । युवा, विद्यार्थी, महिला, मजदुर लगायतका वर्ग र तहका देशभक्तहरुले भारतले जारी गरेको जाली नक्साका विरुद्धमा निरन्तर आन्दोलन अगाडि बढाइरहेका छन् । सांस्कृतिककर्मी, कलाकारहरुले आफ्नो सिर्जनामार्फत् भारतको विस्तारवादी नीतिका विरुद्ध धावा बोलिरहेका छन् । भारतीय अतिक्रमणका विरुद्ध नयाँ नयाँ गीतहरु बजारमा आइरहेका छन् ।
प्रगतिवादी युवा कवि आविष्कार कलाको शब्द सिर्जना र जनगायिका निलिमा पुनको स्वर अनि संगीतमा नयाँ गीत भर्खर बजारमा आएको छ– “खबरदार विस्तारवाद ।” जनगायिका निलिमा पुनलाई स्वरमा साथ बिमा पुन, नारायण दंगाल र सिद्धान्त परियारले दिएका छन् । नारायण दंगालको ऐरेन्ज, तुलसी बास्कोटाको दृश्य सम्पादन रहेको यो गीत जनगायक जीवन शर्माको युटुव च्यानलबाट १३ डिसेम्बर २०१९ (२०७६ मंसिर २७ ) मा अपलोड भएको छ । देशभक्तिको गम्भीर भाव बोकेका शब्दहरु, ओझिलो संगीत अनि उस्तै मिठासपूर्ण र ओजनदार स्वरका साथ एउटा राम्रो सन्देशमूलक र उर्जाशील गीत जनसमक्ष आएको छ– भारतीय अतिक्रमणका विरुद्धमा ।
लिम्पियाधुरा लिपुलेक हाम्रो हो कालापानी
पहिले हाम्रो ओत लाग्यो, अहिले गर्छ बेइमानी
भूगोल सानो देखेर सिमा मिच्ने बैरी हो
खबरदार विस्तारवाद महाकाली हाम्रै हो…
गीतले इतिहासको त्यो यथार्थ घटनालाई प्रष्टरुपमा इंगित गरेको छ, जुन बेला हाम्रो कालापानीमा भारतीय सेनाहरु आएर बस्न शुरु गरेका थिए । वास्तवमा सन् १९६२–६४ को भारत–चीन युद्धका बेला चीनसँग पराजित हुँदा पछि हटेका भारतीय सेनाहरु सुरक्षित हुनु हाम्रो कालापानीमा बसेका थिए । चिनियाँ सेनाहरु आफ्नो सीमाभन्दा तल आएनन् र हाम्रो कालापानीमा लुकेका भारतीय सेनाहरु त्यो बेला बच्न पुगे । नेपाल सरकारले पनि त्यो बेला सायद शरण परेकालाई मरण दिनु हुन्न भन्ने सोचेरै तत्काल आफ्नो कालापानीबाट भारतीय सेनाहरु हटाएन । तत्कालीन नेपाली शासक महेन्द्र शाहले देशमा बहुदलीय व्यवस्थालाई खारेज गरेर निरकुंश पंचायती व्यवस्था लादेका थिए । २०१७ सालको उक्त घटना ‘कु’पछि नेपालमा राजनीतिक दलहरु प्रतिबन्धित थिए । के थाहा महेन्द्रले नेपालको कालापानीबाट भारतीय सेनाहरु नहटाउने, भारतले महेन्द्रको १७ सालको ‘कु’ लाई समर्थन गर्ने आन्तरिक सहमति पो भएको थियो कि ? महेन्द्रले आफ्नो शासन अवधिभरि कहिल्यै पनि कालापानीमा बसेका ती भारतीय सेनाहरु हटाउन कुनै पहल गरेनन् । नेपालको उत्तरी सिमानाका १८ स्थानमा राखिएका भारतीय सेनाका चेकपोष्टहरुमध्ये कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेला १७ वटा त हटाइयो तर त्यही कालापानीका भारतीय सेनाहरु हटाइएन । त्यतिबेला आफू सुरक्षित हुन हाम्रो कालापानीमा “ओत” लाएका भारतीय सेनाहरुले हाम्रो राष्ट्रियतामाथि क्रमशः घात र अतिक्रमण गर्दैै गए । सन् १८१६ को सुगौली सन्धिले प्रष्ट बोल्छ नेपालको पश्चिमी सिमाना महाकाली नदी हो र महाकालीको मुहान लिम्पियाधुरा हो । लिम्पियाधुरा, कालापानीभन्दा निकै पर पर्दछ । तर कालापानीमा बसेका भारतीय सेनाहरुले त्यही नजिकैको खोल्सालाई महाकालीको नक्कली मुहान बनाए । त्यसैका आधारमा कालापानीदेखि लिम्पियाधुरासम्मको ३७००० हेक्टर नेपाली भूमि आफ्नोतिर पारेर भारतले अहिले नयाँ नक्सा सार्वजनिक ग¥यो । यसरी पहिले “ओत” लाग्नका लागि नेपालको कालापानीमा शरणमा बसेको भारतीय सेनाले अहिले ‘बेइमानी’ गरेर नेपाली भूमि अतिक्रमित गरेको छ । गीतले त्यो यथार्थता प्रष्टरुपमा बोकेको छ ।
नेपालको कालापानीमा भारतीय सेनाहरु बस्न थालेपछि नेपालमा कैयौं सरकारहरु फेरिए । पञ्चायत गएर बहुदल आयो । बहुदल र तानाशाही ज्ञानेन्द्रकाल पनि गएर देशमा गणतन्त्र आइसक्यो । तर आजसम्मका नेपालका कुनै पनि सरकारले कालापानीमा बसिरहेका भारतीय सेनालाई हटाउन सकेका छैनन् । “खबरदार विस्तारवाद” गीतले इतिहासका ती असमान सन्धि सम्झौताहरुलाई अस्वीकार गर्दै राष्ट्रिय मुक्ति आन्दोलनको दिशामा अघि बढ्न देशभक्त नेपालीहरुलाई अपिल गरेको छ :
स्वीकार्य छैन हामीलाई असमान सन्धि सम्झौता
आफ्नो भूमि फिर्ता लिन जुट्दैछन् नेपाली जनता
सिमानामा अब हामी लगाउँछौं काँडेतार
अन्तर्राष्ट्रिय अदालतमा हुने छ सरोकार…
आफ्नो मातृभूमिको अस्मिता लुटिँदा पनि देशका माऊ धनीहरुले त्यसका विरुद्धमा अझै कुनै प्रभावकारी कदम चाल्न सकिरहेका छैनन् । खबरदार –विस्तारवाद गीतले प्रष्ट सन्देश दिएको छ– अब देशभक्त नेपालीहरुले आफ्ना शासकको मात्र मुख ताकेर बस्नु हुँदैन । जनस्तरबाटै पहलकदमी गरेर यो मुद्दालाई अन्तर्राष्ट्रिय अदालत समक्ष पु¥याउनु पर्दछ । इतिहासका ती असमान सन्धि सम्झौताहरुलाई अस्वीकार गर्दै अगाडि बढ्नु पर्दछ । देशको सिमानाको रक्षा गर्नका लागि कालापानीबाट भारतीय सेनाहरु हटाउनका लागि कालापानी, लिपुलेक लगायत भारतद्वारा लुटिएको नेपाली भूमि फिर्ता लिनका लागि आन्दोलनको मोर्चा कस्न गीतले देशभक्त नेपालीहरुलाई आह्वान गरेको छ :
उठौं हे दाजुभाइ उठौं दिदीबहिनी हो
देशको सिमा बचाउन, विस्तारवादी सेनालाई
नेपाल भूमिबाट हटाउन…
आफ्नो मातृभूमिको रक्षा गर्नु हरेक नागरिकको कर्तव्य हो । त्यही कर्तव्य पूरा गर्न आन्दोलनको मोर्चा कस्न गीतमा आह्वान गरिएको छ । भूगोल सानो देखेर हामीलाई हेपिरहेका बैरीहरुलाई आन्दोलनको मैदानबाटै उचित जवाफ दिनुपर्ने समय आइसकेको छ । एउटा सानो राष्ट्रले साहस गरेमा ठूला–ठूला साम्राज्यवादीहरुलाई सजिलै ढालिदिन सक्छ । यो पटकपटक इतिहासमा प्रमाणित भइसकेको तथ्यलाई फेरि एकपटक नेपालीहरुले प्रमाणित गरेर देखाउनु पर्ने बेला आएको छ ।
इतिहासमा हाम्रा पुर्खाहरुले वीरतापूर्ण लडाई लडेर देशको स्वाभिमान बचाएका थिए । नालापानीमा पानी पनि नखाई लडेको त्यो इतिहास, जीतगढीमा शक्तिशाली आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई हराएको त्यो इतिहास अहिले हामीलाई हेपिरहेका बैरीहरुलाई सम्झाई दिनुपर्ने बेला आएको छ । हरेक स्वाभिमानी देशभक्त नेपालीहरुले एउटै स्वरमा अब भन्नैपर्ने बेला आएको छ – खबरदार विस्तारवाद, महाकाली हाम्रै हो, लिपुलेक हाम्रै हो, लिम्पियाधुरा हाम्रै हो……।
हुनसक्छ– हाम्रो देशको सरकारले आन्तरिक कुटनीतिक पहल गरेको छ तर नेपाल सरकारलाई हेपेर भारतले वार्तामा बस्न खोजिरहेको छैन । यदि त्यस्तो हो भने पनि जनताले एकीकृत स्वरमा खबरदार विस्तारवादको नारा घन्काएमा त्यसबाट नेपाल सरकारलाई अरु बल र साहस थपिने छ । स्वाभिमानी देशभक्त नेपालीहरुले त्यसरी एकीकृत रुपमा आवाज बुलन्द गरे भने पक्कै पनि देशका शासकहरु जनताको त्यो आवाज सुन्न बाध्य हुने छन् । हाम्रो भूमि अतिक्रमण गरिरहेका विस्तारवादी बैरिहरुको मुटु काँप्न थाल्ने छ । उनीहरु पछि हट्न बाध्य हुने छन् । अन्तर्राष्ट्रिय जगतले पनि हाम्रो त्यो आवाज सुन्ने छ र भारतमाथि थप दबाब पर्ने छ । हाम्रो लुटिएको भूमि तबमात्र फिर्ता हुन सक्नेछ । कालापानीबाट भारतीय सेनाहरु तब मात्र हट्नसक्ने छन् । गीतले मूल रुपमा त्यही सन्देश दिएको छ ।
“खबरदार विस्तारवाद” गीत हरेक स्वाभिमानी देशभक्त नेपालीहरुको साझा आवाज भनेर आएको छ । युटुवमा भ्युज बढाउने महत्वकांक्षी स्वार्थ लिएर होइन, आफ्नो मातृभूमिको रक्षाका लागि संघर्षको मैदानमा कुदिरहेका देशभक्त नेपालीहरुलाई उर्जा भर्नका लागि यो गीत आएको देखिन्छ । त्यसैले सुनेर केवल मनोरञ्जन लिने मात्र होइन, हरेक देशभक्त नेपालीहरुको साझा आवाजको रुपमा आएको यस गीतको सन्देशलाई व्यवहारिक रुपमै आत्मसात गरौं ? र, संघर्षको मैदानमा सबैले एकै स्वरमा भनौं ः
खबरदार ! विस्तारवाद, महाकाली हाम्रै हो…..
खबरदार विस्तारवाद
उठौं हे दाजुभाइ उठौं दिदीबहिनी हो
देशको सीमा बचाउन विस्तारवादी सेनालाई
नेपाल भूमिबाट हटाउन ।
लिम्पियाधुरा, लिपुलेक हाम्रो हो कालापानी
पहिले हाम्रो ओत लाग्यो अहिले गर्छ बेइमानी
भूगोल सानो देखेर सीमा मिच्ने बैरी हो
खबरदार ! विस्तारवाद महाकाली हाम्रो हो
उठौं हे…
स्वीकार्य छैन हामीलाई असमान सन्धि सम्झौता
आफ्नो भूमि फिर्ता गर्न जुट्दैछन् नेपाली जनता
सीमानामा अब हामी लगाउँछौं काडेतार
अन्तर्राष्ट्रिय अदालतमा हुने छ सरोकार
उठौं हे…
पूरा गीत हेर्नुहोस