अध्यक्षद्वय र महासचिवको प्रतिवेदनमाथि १२ जना स्थायी समिति सदस्यहरुको यस्तो धारणा

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ११ : ३७


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक चौथो दिन पुस २ गते पनि जारी रहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा आज १२ जना स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेको प्रवक्ता तथा केन्द्रीय प्रचार विभागका प्रमुख नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरुमाथि आज स्थायी कमिटीका सदस्य र आमन्त्रित सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको विज्ञप्तिमा उल्लेख छ । उहाँहरुले प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझावसहित धारणाहरु राख्नुभएको थियो ।

यसक्रममा आज १२ जना स्थायी समितिका सदस्यहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्तव्य व्यक्त गर्नेहरुमा मातृका यादव, बर्षमान पुन, लिलामणि पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेल रहनुभएको छ ।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयहरुमा आ–आफ्नो कोणबाट वक्ताहरु केन्द्रित रहनुभएको थियो । स्थायी समितिको अर्को बैठक भोलि पुस ३ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्ने बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस्