काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले तराईमा कुहिरो लाग्ने र तापक्रम घट्ने भएकाले चिसो बढ्न सक्ने बताएको छ ।
बुधबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले घाम नलाग्ने र चिसो बढ्ने भएकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेको छ ।
शीतलहरका कारण अहिले तराईको जनजीवन प्रभावित भएको छ ।
तराईसँगै पहाडी र हिमाली जिल्लामा पनि चिसो बढेको छ ।
कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीलगायत ठाउँमा शीतलहर बढेको महाशाखाले जनाएको छ ।
यस्तै मध्य तराई र पूर्वी तराईका चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही धुनुषा, महोत्तरी, सप्तरी, सिराह, मोरङ, झापालगायतका केही ठाउँमा पनि शीतलहर देखिएको छ ।
यी जिल्लाका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरोसँगै पानीका थोपा नै झर्न थालेका छन् ।