मोरङ । सुनसरीको धरानमा विवाहको अघिल्लो दिन बेहुला पक्राउ परेपछि प्रहरी सुरक्षा घेरामा नै विवाह सम्पन्न भएको छ।
धरान उपमहानगरपालिका –१५ का कमल विश्वकर्माको प्रहरी घेरामा विवाह सम्पन्न भएको हो। उनको मंसिर २९ गते विवाह हुँदै थियो। तर मोरङ प्रहरीले उनलाई मंसिर २८ गते शनिबार अवैध लागुऔषध सहित पक्राउ गर्यो।
भारतको जोगबनीबाट अवैध रूपमा लागुऔषध ल्याएको आरोपमा लागुऔषध ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको थियो। भारतको जोगबनीदेखि अवैध रुपमा लागुऔषध ल्याएको आरोपमा कमल २१ एम्पुल लागुऔषध सहित पक्राउ परेका थिए।
उनी पक्राउ परेको खबर पाएपछि धरानबाट बेहुलाका आफन्त इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगे। तर पनि प्रहरीले उनलाई छाडेन।
विवाहको अघिल्लो दिन प्रहरीको हिरासतमा बसेका कमललाई विवाहको दिन दुई जना सादा पोशाकका प्रहरी साथ लगाएर घर पठाइएको थियो। विवाहको दिन कमललाई लिन जन्ती जाने टोली पनि मोरङ प्रहरीको कार्यालयमा बाहिर आएका थिए।
आइतबार विवाह सकिएपछि सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएका कमललाई मंगलबार दिउँसो सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर मोरङ अदालतमा लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।