फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपति र वर्तमान राष्ट्रपतिका छोरी उपराष्ट्रपतिमा निर्वाचित

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ५८


मनिला। फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

कठोर शासकका रुपमा चिनिनु भएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।

पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरु उठाउनु भएको थियो ।

दुई प्रभावशाली राजनीतिक नेताहरुको तालमेलका कारण उहाँहरुका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मङ्गलबार विजयी हुुनुभएको छ।

राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाउनु भएको र त्यो सङ्ख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ।

उहाँका निकटतम प्रतिस्पर्धीको रुपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा हुनुहुन्थ्यो।

नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो। त्यस अन्तर्गत एक एक जना राष्ट्रपति र उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु रहेका छन्।

मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ।

नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनु भएको थियो। कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए।

पूर्व सिनेटर समेत रहनु भएका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नु हुनेछ। अहिलेका राष्ट्रपतिको ६ बर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरु भएका छन्।

फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिनु भएको थियो। निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्