सौताको छोरी ‘सिध्याउन’ तरकारीमा विष हाल्दा…

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : १९


काठमाडाैं । सौताको छोरीलाई सिध्याउने दाऊमा आफैले पनि विष मिसाएको तरकारी खाँदा सौतेनी आमा आफैको ज्यान गएको छ । विष हालिएको तरकारी खाँदा परिवारका अन्य पाँच जना जीवन मरणको दोसाँधमा छन् ।

बिरामी पाँच जनाको वीरगञ्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान खाना पकाउने विषयमा उनकी कान्छी श्रीमति राधिका देवी र जेठी श्रीमतिकी छोरी मनिषा पटेलबीच झगडाको भएको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ । त्यही झगडाको झोंकमा राधिकाले सोमबार राति खाना पकाउने क्रममा तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन् ।

विषादी हालेर पकाइएको तरकारी राधिका आफैले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएको पाइएको प्रहरीले जनाएको छ । विषादी हालेर पकाइएको तरकारी खाए लगत्तै गम्भीर बिरामी परेका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि सोमबार वीरगञ्जको तराई हस्पिटलमा पुर्‍याइयो । तराई हस्पिटलमा उपचारकै क्रममा राधिका देवीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

विषादी हालिएको तरकारी खाँदा राधिकाका छोरा तीन वर्षीय विवेककुमार र सौताका छोरा २० वर्षीय राकेश पटेल, १७ वर्षीय विकास पटेल र १४ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् । उनीहरुको तराई हस्पिटलमा उपचार सम्भव नभएपछि सोमबार राती थप उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । पाँचै जनाको अवस्था जटिल रहेकाले आइसीयूमा उपचार भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जानकारी दिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्