ख्वप कलेजका सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा: विजुक्छें

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ५५


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले विद्यार्थीलाई दिने सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा भएको बताएका छन् ।

भक्तपुरको दत्तात्रयमा सोमबार बेलुकी भएको एउटा चुनावी सभामा उनले सर्टिफिकेट कलेजले दिने नभई विश्वविद्यालयले दिने बताएका थिए। यो बारेमा सामान्य ज्ञान पनि नहुनु देशका केही नेताहरूमा सामान्य जानकारी पनि नहुनुको उदाहरण भएको बताए।

‘एउटा ठूलो दलको केन्द्रीय सदस्य जस्तो उच्चो पदमा पुगिसकेको मान्छे, पूर्व मन्त्री, सांसदसमेत रहेका मानिसमा यस्ता सामान्य जानकारी पनि नहुनु दुरभाग्यपूर्ण छु, उनले भने ।

केही दिन अगाडि भक्तपुर नगरपालिका वडा नम्बर १ मा भएको एउटा चुनावी सभामा नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं एमालेबाट भक्तपुर क्षेत्र नम्बर २ बाट जितेका संघीय सांसद महेश बस्नेतले ख्वप कलेजले दिएको सर्टिफिकेट नक्कली भएको सार्वजनिक भाषण गरेका थिए ।

उनले बोलेको उक्त भाषण सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसकाविरुद्ध सामाजिक सञ्जालमै सयौं प्रतिक्रिया आउने क्रम अझै जारी छ ।


प्रतिक्रिया दिनुहोस्