११ वर्षकी एथलेटिक्स खेलाडीः बिना जुत्ता खुट्टामा ब्याण्डेज बाँधेर स्वर्ण पदक जितिन्

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १० : ३५


काठमाडाैं । फिलिपिन्सकी ११ वर्षकी एथलेटिक्स खेलाडीको सफलता पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । यी खेलाडीले बिना जुत्ता खुट्टामा ब्याण्डेज बाँधेर स्वर्ण पदक जितिन् । इलोइलो प्रान्तको स्थानीय स्कुलमा अन्तर विद्यालय एथलेटिक्स प्रतियोगिता आयोजना गरिएको थियो ।

यो प्रतियोगितामा ११ वर्षकी रिया बुलोसले बिना जुत्ता ४०० मिटर, ८०० मिटर र १६०० मिटर रेसमा भाग लिएकी थिइन् । उनले तीनवटै वर्गमा स्वर्णपदक जितिन् । रियाको यो सफलतालाई इलोइलो स्पोर्टस काउन्सिल मिटका कोच प्रेडिरिक बी भ्यालेन्जुएलाले सामाजिक संजालमा शेयर गरे ।

पोस्टमा रियाले जुत्ता चप्पल लगाएकी छैनन् । उनी जुत्ताको सट्टा खुट्टामा ब्याण्डेज बाँधेकी देखिएकी छिन् । कोचका अनुसार उनीसँग जुत्ता थिएनन् । उनले आफ्नो खुट्टामा ब्यान्डेज बाँधेकी थिइन् । यो ब्याण्डेजमा चर्चिच जुत्ताको ब्राण्ड नाइकको लोगोको चित्र हातैले बनाइएको थियो । कोच भ्यालेन्जुएलाको पोस्ट भाइरल भएपछि सयौंले रियालाई जुता किनिदिने अफर गरेका छन् । एक युजरले फोटो शेयर गरेर चर्चित ब्राण्ड नाइकलाई उनलाई सहयोग गर्न आग्रह गरेका छन् ।

त्यसपछि एक बास्केटबल स्टोरका मालिकले रियाको नम्बर खोजेर उनीसम्म सहयोग पुर्याएका छन् । रियाको तस्वीर, फेसबुक, ट्वीटर, इन्स्टाग्रामसमेतका सामाजिक संजालमा हजारौं पटक शेयर भएका छन् र मानिसहरु उनको साहसको तारिफ गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्