काठमाडौं। रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आज ‘विजय दिवस’को उपलक्ष्यमा सम्बोधन गरेका छन्।
सो सम्बोधनमा पुटिनले युक्रेनमाथिको आक्रमण, पश्चिमा राष्ट्र तथा नेटोजस्ता महत्वपूर्ण विषयमा भनाइ राखेका छन्।
रुसले आज नाजी जर्मनीमाथिको जितको खुशीयालीमा विजय दिवस मनाइरहेको हो।
सन् १९४५ को दोस्रो विश्वयुद्धका क्रममा तत्कालिन सोभियत संघ रुसले हिटलरको नेतृत्वमा रहेको नाजी जर्मनीलाई युद्धमा हराएको थियो।
पुटिनका अनुसार युक्रेनमा विशेष सैन्य अभियान गर्न जरुरी थियो र त्यो न्यायोचित छ। सही समयमै युक्रेनमा रुसले सैन्य अभियान चलाएको उनको भनाइ छ।
युक्रेनमा आक्रमण गरिरहेको विषयमा पुटिन भन्छन्,‘रुसले आफ्नो सुरक्षा, स्वतन्त्रता र सार्वभौमिकताको लागि युक्रेनमा लडिरहेको छ।’
पुटिनले युरोपेली राष्ट्र र नेटोसँग रुसको तनाव गतवर्षदेखि बढेको स्वीकार गरेका छन्। रुसले युरोपसँग तनाव कम गर्न निष्पक्ष सम्झौता हुनुपर्ने बताउँदा बेवास्ता गरेपछि अहिलेको अवस्था निम्तिएको उनको भनाइ छ।
युक्रेन नेटोमा आवद्ध नहोस् भन्ने रुस चाहन्थ्यो। तर नेटोले कुनैपनि युरोपेली देशलाई नेटोमा आवद्ध हुने अधिकार छ भनेको थियो।
युरोपले पहिल्यैबाट डोनबासमा आक्रमणको योजना बनाइरहेको पनि पुटिनको आरोप छ। उनका अनुसार उनीहरुले युक्रेनबाट परमाणु हतियार प्राप्त गर्न खोजिरहेका थिए। साथै नेटोले रुस नजिकका जमिनी क्षेत्र खोजिरहेको थियो।
नेटोले युक्रेनी सीमा प्रयोग गर्नखोज्दा आफ्नो सीमा क्षेत्रमा खतरा बढेपछि युद्ध गर्नुपरेको उनको भनाइ छ।
पुटिनले दोस्रो विश्वयुद्धमा मारिएका सेना र डोनबासमा मारिएका रुसी सेनाको लागि दुई मिनेटको मौनधारणको लागि पनि अपिल गरेका थिए।
उनले सो क्रममा हरेक सिपाहीको मृत्युले रुसलाई शोक परेको पनि उल्लेख गरे।
पुटिनका अनुसार युक्रेनको विषयमा सहमति गर्न खोज्दा पश्चिमा राष्ट्रले केही सुन्न चाहेनन् बरु उल्टै रुसी भूमिमा आक्रमणको योजना बनाए। बीबीसी