सरकारी गाडीमा दलको झन्डा प्रयोगः एमाले भन्छ– बदनाम गराउने षड्यन्त्र

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : ३९


धनगढी । कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरीले प्रयोग गर्ने सरकारी गाडीमा दलको झन्डा प्रयोग गरेको पाइएको छ ।

चौधरीको सवारीमा दलको झन्डा प्रयोग गरेको भन्दै शनिबार राति धनगढी उपमहानगरपालिका(१९ का स्थानीयले सो गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडीमा एमालेको झन्डा गाडेको भन्दै धनगढी–१९ मा कांग्रेसका युवाहरूले नियन्त्रणमा लिएका हुन् ।

प्रदेशसभा सदस्य चौधरीले प्रयोग गर्ने से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका(१९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिई युवाहरूले प्रहरीलाई बुझाएका हुन् । उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । सो विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

तर एमालले भने घरमा रोकेर राखेको गाडीलाई धकेलेर सडकमा लगी विपक्षीले सरकारी गाडीमा दलको झन्डा गाडेको आरोप लगाएका छन् । धनगढी उपमहानगरपालिकाका लागि मेयरमा उम्मेदवारी दिएका एमाले नेता रणबहादुर चन्दले एमालेलाई बदनाम गराउने उद्देश्यले घरमा रोकेर राखेको गाडीलाई धकेलेर बाहिर लगी झन्डा प्रयोग भएको बताए ।

‘यो एमालेलाई बदनाम गराउने उद्देश्यले बुनेको योजना हो,’ उनले भने, ‘यसको छानबिन हुनु पर्दछ ।’ उनले निर्वाचन आचारसंहिताको पालना गर्न एमालेका सबै उम्मेदवार र कार्यकर्ता कटिबद्ध रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्