मधेसमा पुगेर प्रचण्डले भनेः तपाइँहरुको हितमा संविधान संसोधन गर्न खोज्दा केपीले दिएनन्

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : ५४


काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन्।

दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेकाे तर ओलीका कारण छलफलै नभएको आरोप लगाएका हुन्।

‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधाननमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुई पटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार भने, ‘ र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन ? तपाईंहरूलाई थाहा छ या छैन । म तपाईंहरूलाई भन्न चाहन्छु, केपी ओलीकै कारणले संविधाने संशोधन हुन सकेन । परिमार्जन हुन सकेन।’

अध्यक्ष प्रचण्डले मधेस जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको प्रष्ट पारे । उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको बताए।

गठबन्धनको पक्षमा देशभरी लहर आएको पनि उनले दाबी गरे।


प्रतिक्रिया दिनुहोस्