झापाको भ्रमणमा निस्किदै पूर्वराजा ज्ञानेन्द्र शाह

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  २ : २८


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल क्षेत्रको भ्रमणबाट फर्कनुभएको करिब तीन सातापछि पूर्वाञ्चल भ्रमणमा निस्कन लाग्नुभएको छ। उहाँ पूर्वरानी कोमल र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि २ गते झापा जान लाग्नुभएको हो।

करिब एक महिना लामो बसाइका निम्ति झापा जान लाग्नुभएका ज्ञानेन्द्रले विभिन्न मठ–मन्दिरमा दर्शन र पूजाआजा गर्ने कार्यक्रम रहेको छ। ११ बजे बुद्ध एयरको जहाजबाट भद्रपुर जाने कार्यक्रम रहेको छ। सुरक्षा बन्दोबस्तीका लागि उहाँका अंगरक्षक सशस्त्र प्रहरीका डीएसपी राजन गुरागाईंसहितको टोेली झापा पुगिसकेको छ।

करिब २५ जनाको कन्भे टोली आइतबार झापा पुगिसकेको छ। आफ्नो स्वामित्वमा रहेको हिमालय टि स्टेटमा बस्ने गरी पूर्वाञ्चल भ्रमणमा निस्कन लाग्नुभएका ज्ञानेन्द्रले त्यहाँ राप्रपाका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ।

स्रोतका अनुसार उहाँको भ्रमण सफल पार्न राजधानीबाट समेत केही टोली झापा जाने भएको छ। उहाँले विभिन्न दर्जाका नेता, पूर्वराजावादी युवा संघ–संगठन विश्व हिन्दू युवा संघलगायतका संघ–संगठनका नेता र कार्यकर्तासमेत भेट्ने कार्यक्रम रहेको छ।आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्