नेकपा स्थायी कमिटी बैठक : १२ जनाले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखे

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ११ : ०५


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटीको बैठकमा १२ जना वक्ताले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्नुभएकाे छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा धुम्बाराहीमा बसेको उक्त बैठकमा प्रतिवेदनमाथि योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य तथा बामदेव गौतमलगायतले धारणा राख्नुभएकाे हाे ।  बैठक भोलि ११ वजे बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएकाे छ । 


प्रेस वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक दोस्रो दिन आज मिति २०७६ मंसीर ३० गते पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो । 
बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा राख्नेक्रम अघि बढेको छ । यस सिलसिलामा स्थायी कमिटीका १२ जना सदस्यहरुले प्रस्तुत प्रतिवेदन र संशोधन प्रस्तावमाथि निर्धारित २० मिनेट समय सीमाभित्र रहेर मन्तव्य राख्नुभएको छ । 
आजको बैठकमा कमरेडहरु वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत प्रस्तुत गर्नुभयो । उहाँहरुले संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत आ–आफ्ना सुझाव राख्नुभएको छ । 
स्थायी समितिको अर्को बैठक भोलि पुस १ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्नेछ ।
 
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
प्रमुख, केन्द्रीय प्रचार विभाग


प्रतिक्रिया दिनुहोस्