काठमाडौँमा कोठा तातो बनाएर सुतेका शिशुसहित सुत्केरी आमा मृत फेला

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : १४


काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा कोठा तातो बनाउन कोइला बालेर सुतेका सुत्केरी आमासहित २ महिने शिशु मृत फेला परेका छन्। 

जाडो भगाउन कोइला बालेर सुतेकी ३२ वर्षीय शर्मिला रञ्जितकार र उनका २ महिनाको छोरा मृत फेला परेका हुन्। कोठामा सँगै सुतेका शर्मिलाका श्रीमान् नमराज रञ्जितकार भने बिरामी छन्।

शर्मिला सुत्केरी भएका कारण कोठा न्यायो बनाउन भन्दै उनीहरु सबै झ्याल ढोका बन्द गरी कोइला बालेर सुतेका थिए। 

बिहान श्रीमती र छोरालाई उठाउँदा नउठेपछि घचघच्याउँदा मृत्यु भइसकेको पाएपछि उनका श्रीमानले प्रहरीलाई खबर गरेका थिए। 

खबर पपाएपछि बिहान ७ बजे घटनास्थल पुगेको प्रहरीले शर्मिलाका श्रीमान नमराजलाई पनि बिरामी अवस्थामा फेला पारेको थियो। नमराज अहिले हिँड्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुई महिनाकी सुत्केरी शर्मिला र छोरालाई चिसोबाट बचाउनका लागि राती कोइला बालेर सुतेको नमराजले प्रहरीसमक्ष बताएका छन्। तर एउटामात्रै रहेको झ्यालको सिसा बन्द गरेको र ढोकासमेत थुनेर सुतेको कारण अक्सिजनको अभावमा निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।


प्रतिक्रिया दिनुहोस्