रुसले जेलेन्स्कीलाई ‘हिटलर’ भनेपछि पुटिन चाहीँ कस्तो भनेर प्रश्न गर्न थालियो…

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : १२


काठमाडौं। रुसले युक्रेनमा भौतिक रुपमा आक्रमण गरेको तेस्रो महिनामा प्रवेश गरेको छ।

दुवै देशका हजारौं सेनाहरु मारिएका छन्। यद्यपी युद्ध रोकिने छाँटकाँट देखिएको छैन।

यस क्रममा रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तानाशाह एडोल्फ हिट्लरसँग तुलना गरेको छ।

रुसी विदेशमन्त्री सर्गी लाभरोभले युक्रेनका राष्ट्रपति जेलेन्स्की नाजी हिट्लरजस्तै भएको बताएपछि विवाद थप चुलिएको छ।

हिट्लर यहुदी पृष्ठभूमिको भएको र जेलेन्स्की पनि यहुदी भएकाले उनीहरुमा एकै खालको रगत भएको लाभरोभको टिप्पणी थियो।

लाभरोभको यस भनाइपछि विश्वभरका सामाजिक संजाल प्रयोगकर्ताले जेलेन्स्की नभएर रुसका राष्ट्रपति भ्लादमिर पुटिन चाहीँ हिट्लरजस्तो भएको बताइरहेका छन्।

इजरायल, अमेरिका र युक्रेनले पनि रुसका विदेशमन्त्रीको भनाइको विरोध गरेका छन्।

इजरायलका विदेशमन्त्री यायर लापिडका अनुसार लाभरोभको टिप्पणी अपमानजनक र अक्षम्य छ। लाभरोभले भयानक रुपमा ऐतिहासिक गल्ती गरेको पनि उनको भनाइ छ।

अमेरिकाले पनि लाभरोभको विरोध जनाउँदै उनको टिप्पणी यहुदीमाथि घृणा पैदा गर्ने खालएको भएको बताएको छ।


प्रतिक्रिया दिनुहोस्