कारागारबाट फरार भएका यमराजलाई १८ बर्षको कैद सजाय

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ५९


कारागारबाट फरार भएका कैदी यमराज परियारलाई थप छवर्ष गरी १८ वर्ष कैद सजायको फैसला भएको छ।

दाङ जिल्ला अदालतले गत पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलेमतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी १८ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका परियारले सात वर्ष पांच महिना कैद सजाय भुक्तान गरिसकेका थिए । अदालतका न्यायाधीस डिल्लीराज शर्मा अर्यालको इजलासले भुक्तान गर्न बाँकी १२ वर्ष छ महिना र थप छ वर्ष तीन महिना गरि १८ वर्ष १० महिना कैद सजाय सुनाएको हो ।

कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार कैदी कारागारबाट भागेमा पक्राउपछि बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था छ । सोही अनुसार अदालतले यमराजलाई थप छ वर्ष तीन महिना साढे १४ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले बताए।

यता कैदी यमराजलाई भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई १० वर्ष कैद सजाय फैसला भएको छ । गर्भवती प्रेमिकाको हत्यामा जन्मकैदको सजायँ काटिरहेका यमराज गत पुस ८ गते बिहान प्रहरी जवान धनबहादुर चौधरीसँग उपचारका लागि अस्पताल गएका थिए ।


प्रतिक्रिया दिनुहोस्