पत्रकारको बिहेको निम्तो मान्न नेपाल आए गान्धी, सुम्निमाको विगत कोट्याउँदै भारतीय मिडिया!

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : ५९


काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी अहिले ‘व्यक्तिगत भ्रमण’का लागि काठमाडौंमा छन्। राहुल काठमाडौंमा हुँदा ठमेलको एक डिस्कोमा गएपछि अहिले भारतमा तरंग पैदा भएको छ।

भारतीय सामाजिक सञ्जालमा भाइरल भिडियोलाई लिएर सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)ले उनलाई निशाना बनाएको छ।

यसैबीच, कंग्रेसले पनि सो विषयमा भाजपालाई जवाफ फर्काएको छ। राहुल एक पत्रकार साथीको बैबाहिक कार्यक्रमका लागि नेपाल गएको काँग्रेसले प्रष्ट्याएको छ। गान्धी सोमबार नेपाल आएका हुन। उनले नेपालमा करिब ५ दिन बिताउँने छन्।

नेपाल भ्रमणका क्रममा गान्धीले मुस्ताङ लगायत विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्न सक्‍ने बताइएको छ। उनी शुक्रबार स्वदेश फर्कनेछन्।

पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमामा उदासको विवाहको निम्तो मान्न राहुल नेपाल आएका हुन। उदास विगतमा भारतीय मिडियामै काम गर्थिन्। त्यसैक्रममा उनको गान्धीसँग मित्रता कायम भएको थियो।

सुम्‍निमाले सीएनएनको लागि दिल्लीस्थित संवाददाता भएर समेत काम गरिन। उनले भारतीय राजनीति, आर्थिक, सामाजिक, वातावरणीय लगायतका बिषय बस्तुबारे रिपोर्टिङ गर्ने गर्थिन्।

सिएनएनमा लामो समय काम गरेकी सुम्निमा र राहुलबीच राम्रो सम्बन्ध रहेको बताइन्छ । कुनै बेला भारतीय मिडियामा राहुल र सुम्‍निमाको विहे हुन लागेको समेत चर्चा हुने गरेका थिए।

नेपालमा जन्मिएकी सुम्निमा अमेरिका, स्वीट्जरल्याण्ड, म्यानमार, पाकिस्तान, रुस र जोर्डनलगायत विभिन्न देशमा हुर्किएकी हुन। उनका पिता एनआरएनका पूर्व उपाध्यक्ष तथा म्यान्मारका लागि पूर्व नेपाली राजदूत हुन।

उनले वाशिंगटन र ली विश्वविद्यालयबाट स्नातक गरेकी छन् भने अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन्। उदासले सन् २००१ मा सिएनएनबाट आफ्नो मिडिया करियर सुरु गरेकी थिइन।

सुम्‍निमाले निमा मार्टिन शेर्पा नाम गरेका एक व्यवसायी युवकसँग बिहे गर्न लागेकी हुन। शेर्पा चीनको गुआन्झाउमा अवस्थित एसएमएल होल्डिङ्स नामक फेशन कम्पनीका मालिक हुन।

बिहिबार काठमाडौंको बौद्ध स्थित होटल हायातमा हुने उदासको वैवाहिक समारोहमा राहुल गान्धी सरिक हुने कार्यक्रम छ।

उता केहि भारतीय मिडिया र भारतीय सत्तारुढ दल भाजपाका नेताहरु भने सुम्निामाले विगत कोट्याउँदै गान्धीको आलोचनामा उत्रेका छन्।

नेपाल-भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेकको बिषयलाई लिएर दरार उत्पन्न भएका बेला सुम्‍निमाले नेपालको पक्षमा ट्विट गरेकी थिइन्।

उदासको सो कुरालाई ‘विवादास्पद’ भन्दै भारतीय मिडियाले राहुल गान्धीको साथीको बारे प्रश्न उठ्ने टिप्पणी गरिरहेका छन्।

नेपालले नयाँ नक्सा जारी गरेपछि सो बिषयले अन्तराष्ट्रिय मिडियामा पनि स्थान पाएको थियो।

सीएनएनमा सुगम पोखरेलले लेखेको रिपोर्ट शेयर गर्दै सुम्निामाले त्यतिबेला ट्विट गर्दै लेखेकी थिइन्, ‘नेपालले नयाँ नक्सा जारी गर्यो। वास्तवमा दशकअघि नै यो गरिसक्नुपर्थ्यो। लेख्नु भएकोमा धन्यवाद सुगम।’

 

उदासले भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धको जन्मभूमीबारे दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएकी थिइन्।

 

भारतीय सत्ताको आलोचना गर्ने र चीनसँग जोडिएका युवकसँग बिहे गर्न लागेकी पत्रकारको बिहेको निम्तो मान्न नेपाल गएको भन्दै भारतीय मिडिया र भाजपा नेताहरुले  गान्धीको आलोचना गरिरहेका हुन।


प्रतिक्रिया दिनुहोस्