राहुल गान्धी नेपालको नाइट क्लबमा देखिँदा भारतमा विरोध, गान्धी किन आए नेपाल?

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : ०४


काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी यतिबेला नीजी भ्रमणमा काठमाडौँमा छन्।

सोमबार भिस्तारा एयरको विमानबाट उनी काठमाडौँ आइपुगेका हुन्। उनी निजी भ्रमणमा नेपाल आएकाले उनलाई नेपालको तर्फबाट कुनै सुरक्षा प्रदान गरिएको छैन।

यसबीचमा सोमबार साँझ उनले ठमेलस्थित नाइट क्लब एलओडी लर्ड अफ द ड्रिङ्क्समा गएको पाइएको छ।

त्यहाँ गएको फोटो तथा भिडियोहरु सार्वजनिक भएपछि भारतमा गान्धीको विरोध भइरहेको छ।

सत्ताधारी दल भाजपाका नेताहरुले भिडियो सेयर गर्दै कांग्रेस र राहुल गान्धीमाथि आलोचना गर्न थालेका छन्।

भाजपा प्रवक्ता शहजाद पूनावालाले भनेका छन्, ‘राहुल गान्धीले के गरिरहेका छन्, यो उनको नीजि मामिला हो। तर जब राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, राजस्थान जलिरहेको छ। यसमाथि चिन्ता व्यक्त गर्नुको साटो राहुल गान्धी नेपालको नाइटक्लबमा पार्टी गरिरहेको देखिएका छन्। जबकी उनी भारतका जनतासँग उनीहरुको समस्याबारे जान्न अग्रसर हुनुपर्दथ्यो।’

गान्धी मोदी सरकारका कटु आलोचक भएका कारण पनि भाजपाले उनको कार्यलाई नजिकैबाट नियाल्छन् र गल्ती देख्नासाथ खेदो खनि हाल्छन्।

पूनावालाले थप भनेका छन्, ‘कांग्रेस पार्टी ध्वस्त भइसकेको छ तर राहुल गान्धीको पार्टी यसरी नै चलिरहनेछ। उनी राजनीतिमा गम्भीर छैनन्। जब उनको पार्टी र देशका जनतालाई उनको आवश्यकता छ, उनी नेपालमा पार्टी गरिरहेका छन्।’

गान्धी किन नेपाल आए?
राहुल गान्धी नेपालमा आफ्ना साथी सुम्निमा उदास भेट्न आएका हुन्। उदास पहिले सीएनएनका पत्रकार थिए। उनका बुबा भूम उदास म्यानमारका लागि नेपाली राजदूत थिए।

ओपीइन्डिया डटकमकाअनुसार सुम्निामाले निमा मार्टिन शेर्पासँग विवाह गर्दैछन्। हायात रिजेन्सी होटलमा मे ५ का दिन हुने विवाहको लागि गान्धी नेपाल आएका हुन्। हाल उनी काठमाडौंको म्यारियट होटलमा बसिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्