किभ । अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ।
रुसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो।
गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि सुरक्षाको कारण देखाउदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको अमेरिकाले युद्ध नरोकिएपनि अहिले दूतावास पुनर्स्थापना गर्न लागेको अधिकारीहरूले जनाएका छन्।
अमेरिकी कूटनीतिज्ञहरुका अनुसार दूतावास पुनर्स्थापनाका लागि आवश्यक गृहकार्य तीब्र रुपमा भइरहेको छ।
“हामीले धेरै नै चाँडै दूतावास पुनर्स्थापना हुने अपेक्षा गरेका छौँ, त्यसका लागि अमेरिकाको तर्फबाट गर्नुपर्ने गृहकार्य भइरहेको छ,” एक सरकारी अधिकारीले पत्रकार सम्मेलनमा सोमबार भने।
युक्रेनमाथि रुसले गरेको आक्रमणको सबैभन्दा चर्को विरोध गर्दै आएको अमेरिकाले रुसी आक्रमणकारीले आफ्नो दूतावासमा पनि आक्रमण गर्ने खतरा रहेको भन्दै दूतवास बन्द गरेर आफ्ना सबै कर्मचारीहरूलाई स्वदेश फिर्ता गरेको थियो।
अमेरिकाले युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको आरोप आक्रमण हुनुभन्दा केही दिन अगाडि देखि नै लगाउदै आएको थियो। तर रुसले भने आक्रमणको तयारी नभएको दावी गर्दै आएको थियो। अन्ततः फेब्रुअरी २४ मा अमेरिकाको आरोप सत्य सावित भयो।
रुसको आक्रमणका कारण अहिलेसम्म युक्रेनमा सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्।
दुई देशको विवाद चर्किदै गएपछि युद्धमा परिणत भएको हो। वार्ताको माध्यमबाट तत्काल युद्ध अन्त्य गर्न विश्व समुदायले आग्रह गरेको छ।
सर्वत्र आग्रहका आधारमा आक्रमण भएको पहिलो हप्तामा केही चरणमा वार्ता भएपनि सफल हुन नसकेपछि युद्ध अहिले पनि जारी छ। एजेन्सी