काठमाडौँ । सरकारको कमजोर अनुगमन र व्यवसायीको गैर जिम्मेवारीका कारण उपभोक्ताको भान्सामा दैनिकजसो नै दूषित खाद्य वस्तु तथा पेय पदार्थ भित्रिरहेको छ।
दूषित खाद्य वस्तु तथा पेय पदार्थका कारण उपभोक्ताको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको चिकित्सकको भनाइ छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चालू आर्थिक वर्षको चौमासिक प्रतिवेदनअनुसार ६१ वटा खाद्य नमूनामा दूषित तथा न्यून गुणस्तरका खाद्य वस्तु तथा पेय पदार्थ पाइएको छ।
विभागले चालू आवको चौमासिकमा ९२५ वटा नमूना संकलन गरेर ४ सय ६४ वटा नमूनाको विश्लेषण परीक्षण गरेको थियो। तीमध्ये ६१ वटा नमूनामा दूषित तथा न्यून गुणस्तरका खाद्य वस्तु तथा पेय पदार्थ बिक्री वितरण गरेको फेला परेको हो।
वरिष्ठ छाती रोग विशेषज्ञ डा दीर्घ सिंह बमले दूषित तथा न्यून गुणस्तरको खाद्य वस्तुको प्रयोगले स्वास्थ्यमा जटिल खालका रोग लाग्ने बताउनुभयो। उहाँले यस्ता अखाद्य वस्तुले मुटु, आन्द्रा, छाती र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग लाग्न सक्ने बताउनुभयो। आजको राजधानी दैनिकले खबर छापेको छ।