काँग्रेस नेता पौडेलद्वारा पाथीभराको दर्शन

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १२ : १०


काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज परिवारसहित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्नुभएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद बढिरहेका बेला काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकै दिन नेता पौडेल पाथीभराको दर्शनका लागि परिवारसहित यहाँ पुग्नुभएको हो । 

छोरा, बुहारी र नातीसहित यहाँ पुग्नुभएका पौडेलले आज बिहान पाथीभराको दर्शनपछि सुकेटार विमानस्थलमा पार्टीका स्थानीय नेता कार्यकर्तासँग संक्षिप्त भेटघाटसमेत गर्नुभएको थियो।

भेटघाटका क्रममा उहाँले पार्टीभित्र रहेका आन्तरिक विवाद र असमझदारीका विषय प्याकजमै टुङ्गो लगाएर अघि बढ्ने बताउनुभयो ।

समयमा नै महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाएरै अघि बढ्नेमा उहाँको जोड थियो ।

केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशनलगायतका मुख्य विषयमा छलफल केन्द्रित नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच विवाद हुँदै आएको छ । 

पौडेल पक्षले यसअघिको बैठक बहिस्कार गरेपछि काँग्रेसले आजका लागि बैठक बस्ने निर्णय गरेको थियो ।

हेलिकप्टरमार्फत पाथीभराको दर्शनका लागि यहाँ आउनुभएका नेता पौडेल दर्शनपछि विराटनगर फर्किनुभएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्