कारवाहीमा परेका नेताले भने-विप्लवले पदीय हैसियत गुमाए, सच्चिएर आउनुपर्छ

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ५०


काठमाडौं । नेतृत्व विरुद्ध जथाभावी बोल्दै हिँडेपछि कारबाहीमा परेका नेकपाका नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओलीले आफूहरुमाथिको कारबाही अन्यायपूर्ण रहेको बताएका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले महासचिव विप्लवले पदीय हैसियत र नैतिकता गुमाइसकेको भन्दै आफूहरूमाथि गरेको भनिएको अन्यायपूर्वक कारबाही खारेज गरेको बताएका छन्।

नेताहरू कञ्चन र सुदर्शनले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘क। महासचिव, हामीले हाम्रो गतिविधि १२ औँ बैठकको निर्णयअनुसार गरेका छौँ, बरु तपाईंहरू यो मान्यताबाट चिप्लिँदै गर्दा हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त मालेमावाद, पार्टी सञ्चालनको वैज्ञानिक पद्धति जनवादी केन्द्रीयता, वर्गसङ्घर्षबाट प्राप्त हुने वैज्ञानिक समाजवादी क्रान्तिबाट विचलित भएको कुरा दिनको घामजस्तै प्रस्ट छ । हामी पार्टी बनाउन चाहन्थ्यौँ तर तपाईंहरूले त पदमुक्त गरेर दुई लाइन सङ्घर्ष र आलोचना तथा आत्मालोचनाको अन्त्य गरिदिनुभयो। अब भने तपाईंहरूले हामीलाई १२औँ बैठकले दिएको विचारधारात्मक सर्वोच्चताको मान्यतालाई प्रयोग गर्ने स्थितिमा ल्याइपुर्याउनुभएको छ । हामीले कुनै हालतमा पनि अर्को केन्द्र खडा गरेर वितण्डा मच्चाइरहेका छैनौँ, बरु नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा रहेर नै सांस्कृतिक क्रान्तिको बहस चलाइरहेका छौँ जब कि चुनावी कार्यनीतिले पार्टीलाई विभाजनको स्थितिमा लैजाँदा पनि पार्टी एकताभन्दा चुनाव नै प्रधान बनाउन महासचिवलाई केले प्रेरित गर्यो? यो चिन्ताको विषय भएको छ।’


प्रतिक्रिया दिनुहोस्