काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको तेस्रो महिनामा प्रवेश गरेको छ। रुस सामु यतिलामो समयसम्म युक्रेन टिक्छ भन्ने कसैले सोचेकै थिएनन्।
यद्यपी पश्चिमा राष्ट्रबाट अत्याधुनिक हतियार पाएपछि युक्रेनलाई फाइदा पुगिरहेको छ। अमेरिकका अनुसार रुस–युक्रेन द्वन्द्वमा १५ हजारभन्दा बढी रुसी सेना मारिएका छन्।
यस क्रममा युक्रेनको भने कम्तिमा ७ हजार सेनाको ज्यान गएको नेटोको भनाइ छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले देश नछाड्ने र रुसविरुद्ध लडिरहने वाचा गरेका छन्।
उनले सामान्य नागरिकलाई पनि सेनामा भर्ती हुन र पश्चिमा राष्ट्रलाई धेरै हतियार प्रदान गर्न आग्रह गरिरहेका छन्।
युद्ध सुरु भएको तेस्रो महिनामा प्रवेश गरिसकेको अवस्थामा यतिबेला जेलेन्स्कीले आफूलाई रुसी विशेष फौजले झन्डैले हत्या गरेको खुलासा गरेका छन्।
डेलीमेलका अनुसार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले जब आफ्ना सेनालाई युक्रेनमा आक्रमण सुरुगर्नु भनेर आदेश दिएका थिए। त्यसबेला नै रुसका विशेष फौज युक्रेनको राष्ट्रपति निवासमा राति प्याराग्लाइड गर्दै पुगेका थिए।
जेलेन्स्कीका अनुसार पुटिनले उनीहरुलाई जिउँदै पक्रिन अथवा आफ्नो हत्या गर्न नै आदेश दिएका थिए।
जेलेन्स्की आफ्ना श्रीमती र दुई छोराछोरीसँग निवासमै थिए। टाइम म्यागजिनका पत्रकार सिमोन सस्टरसँगको कुराकानीका क्रममा जेलेन्स्कीले रुसी फौज उनी बसेको घरको कम्पाउन्डमै मै आएको बताएका हुन्।
दुईपटक रुसी सेना सो क्षेत्रमा पुगेका थिए। तर जेलेन्स्कीका अंगरक्षकहरुले रुसी सेनाको प्रतिकार गरेपछि पुटिनको योजना असफल भएको थियो।
रुसी फौजको आक्रमण असफल पारेपछि जेलेन्स्कीलाई अमेरिका र बेलायती सेनलो देश छाड्न प्रस्ताव गरेको थियो। यद्यपी उनले सो प्रस्ताव अस्वीकार गर्दै किभबाटै रुसलाई आफू त्यहीँ भएको र लडिरहने सन्देश दिएका थिए।