काठमाडौं। रुसविरुद्ध लड्न युक्रेनी सेनामा भर्ती भएका एक अमेरिकी नागरिकको रुसी सेनाको आक्रमणमा मृत्यु भएको छ।
सीएनएनका अनुसार २२ वर्षका विली जोसेफ क्यान्सलको रुसको कारवाहीमा मृत्यु भएको उनका परिवारले पुष्टि गरेका छन्।
उनी यसैहप्ताको सोमबार युक्रेनमा मारिएका हुन्। जासेफका आमा रेबिकाका अनुसार युक्रेनमा रुसविरुद्ध लडेबापत् उनले पैसा पाउँथे।
जोसेफ अमेरिकाको टेनिसीको भाडाको सेनालाई अभ्यास गराउने कम्पनीमा आवद्ध थिए। युक्रेनले इच्छुकले युक्रेनी सेनामा भर्ती हुन पाउने व्यवस्था गरेपछि जोसेफ सम्झौतामा हस्ताक्षर गर्दै युक्रेन गएका थिए।
यससँगै रुस–युक्रेन युद्धमा मारिने अमेरिकी नागरिकको संख्या दुई पुगेको छ। यसअघि अर्का अमेरिकी पुरुषको पनि प्रेमिका भेट्न जाँदा युक्रेनमा मृत्यु भएको थियो।