राष्ट्रसंघ प्रमुखको युक्रेन भ्रमणका क्रममा रुसी हमला, एक जनाको मृत्यु

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : २८


काठमाडौं। युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ।

‘हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र आक्रमणमा मारिएका एक व्यक्तिको अवशेष फेला पारेका छन्’ कीभका मेयर भिटाली क्लिच्गोले सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत जनाएका छन्।

यसैबीच राष्ट्रपति जेलेन्स्कीले उक्त आक्रमणले विश्व सङ्गठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको र त्यसप्रति कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन्। उनले किएभ र अन्य शहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने प्रस्ट पारेको उल्लेख गरेका छन्।

उनी भन्छन्,‘राष्ट्रसंघका प्रमुख भएकै क्षेत्रमा रुसबाट आक्रमण हुनु त्यो राष्ट्रसंघमाथिको अपमान हो।’

रुसले राष्ट्रसंघलाई नटेर्ने पनि जेलेन्स्कीको भनाइ छ। रासस


प्रतिक्रिया दिनुहोस्