काठमाडौँ । १६ वर्षीय एक युवकले बलिउड अभिनेता सलमान खानको घर बमले उडाइदिने धम्की दिएका छन्।
भारतको गजियाबादका १६ वर्षका एक युवकले मुम्बई पुलिसलाई इमेल गर्दै सलमान खानको घर बमले उडाइदिने धम्की दिएका हुन्।
उनले यो इमेल डिसेम्बर ४ मा पठाएको हिन्दुस्तान टाइम्सले जनाएको छ। इमेलमा ती युवकले लेखेका थिए, ‘बान्द्राको ग्यालेक्सी, सलमान खानको घरमा अबको दुई घण्टामा बिस्फोट हुँदैछ, रोक्न सके रोक।' इमेल पाएपछि पुलिसको होस् उड्यो र तुरुन्त आफ्नो कारवाही सुरु गर्यो । बान्द्रा पुलिस बम डिटेक्सन र डिस्पोजल स्क्वाडसहित सलमानको घर पुगे।
भारतीय संचार माध्यममा प्रकाशित समाचार अनुसार पुलिस जब घर पुग्यो तब सलमान त्यहाँ थिएनन् । तर उनका पिता सलिम खान, आमा सलमा र बहिनी अर्पितालाई सुरक्षित स्थानमा राखेर घरको अनुसन्धान गरियो। अनुसन्धान चार घण्टासम्म चल्यो । सुक्ष्म अनुसन्धान गर्दा पनि केही नपाएपछि इमेल झुटो भएको थाहा भयो। त्यसपछि ती व्यक्तिको खोजीकार्य सुरु भयो। प्राविधिकको सहयोगमार्फत् एक युवकले गाजियाबादबाट उक्त इमेल पठाएको पत्ता लाग्यो।
सलमान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा इलाकामा ग्यालेक्सी अपार्टमेन्टमा बस्छन्। त्यसपछि पुलिसले ती युवकलाई बान्द्राको पुलिस स्टेशनमा आत्मसमर्पणका लागि नोटिस पठाएको थियो। उनलाई जुवेनाइल कोर्टमा पेश गरेपछि रिहा गरिएको छ।