भरतपुर महानगरः गृहमन्त्रीले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा बागी उम्मेदवार पौडेलले हुन्न भने

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १२ : ५६


चितवनl भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उमेदवारी फिर्ता नलिने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गरेका हुन्।

पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर-७ स्थित पौडेल निवास पुगेका थिए। गृहमन्त्रीसँगको भेटमा आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने कुरा स्पष्ट रूपमा बताएको पौडेलले बताए। आफूले दिएको उमेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए।

‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन’, उनले भने, ‘परिस्थिती धेरै अगाडि बढिसकेको छ। मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिए । तपाईहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् भने भनेँ।’

पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागे कारबाही गर्न पनि भनेको उनले बताए। विभिन्न जिम्मेवारी दिन गृहमन्त्रीले प्रस्ताव गरेको संकेत गर्दै उनले के प्रस्ताव गरे भन्ने कुरा भने खुलाउन चाहेनन्। आफूलाई कुनै प्रस्तावले नछुने उनले बताए। पहिलो भेटमा पौडेलले उमेदवारी फिर्ता नलिने बताएपछि फेरि भेट्ने भनेर गृहमन्त्री निस्किएका छन्।

पौडेललाई भेट्नुअघि गृहमन्त्री खाँणले कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेललाई भेटेका थिए। सापकोटा र खरेलले पनि उम्मेदवारी फिर्ता गराउन सहयोग गर्न गरेको खाँणको आग्रह अस्वीकार गरेका छन्। गठबन्धनबाट भरतपुरको मेयरको उमेदवारमा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाउने निश्चित भएपछि पौडेलले बागी उम्मेदवारी दिएका हुन्।


प्रतिक्रिया दिनुहोस्