नेपाल टेलिकमले ल्याउँदै ई–सिम, भौतिक सिमकार्डको आवश्यकता नपर्ने

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : २७


काठमाडौं। नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ।

ई–सिमबारे सम्झौता पत्रमा नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच हस्ताक्षर भएको छ।

सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गरे।

अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ।

ई–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ।

हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्