पाकिस्तानमा फेरि चिनियाँ नागरिक लक्षित आक्रमण भएपछि चीन रुष्ट, राष्ट्रसंघद्वारा हत्याकाण्डको निन्दा

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : ५७


बैशाख । संयुक्त राष्ट्रसंघका महासचिवले पाकिस्तानको कराँचीमा भएको हत्याकाण्डको निन्दा गरेका छन्।

पाकिस्तानको कराँचीमा अवस्थित कराँची विश्वविद्यालयमा मंगलबार दिउँसो हिंसात्मक हमला भएको थियो। सो आक्रमणमा परी कैयौँ व्यक्तिको ज्यान गएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्न भएकाहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताए। हकले मंगलबार नै जारी गरेको विज्ञप्तिमा विश्वविद्यालयजस्तो पवित्र स्थानमा हमला गर्नु तथा निर्दोष नागरिकको ज्यान लिनु मानवीय अपराध हो भनेका छन्।

शिक्षण संस्था एवं शिक्षकहरुलाई यसरी हमला गर्नु भनेको मानवीय अपराध बाहेक अरु केही नभएको भन्दै यस्ता अपराधमा संलग्न भएका व्यक्तिको खोजी गरी तिनीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा महासचिव गटर्रेसले जोड दिएको उनका उपप्रवक्ता हकले विज्ञप्तिमार्फत् जानकारी गराए।

घटना
पाकिस्तानको कराँची विश्वविद्यालयमा मंगलबार बम विस्फोटन हुँदा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको थियो।

बीबीसीका अनुसार उक्त बम विस्फोटन विश्वविद्यालयको विदेशी संकायबाट कन्फ्युसियस सेन्टरमा जाँदै गरेको भ्यानमा भएको हो।

उक्त विस्फोटनमा सेन्टरका नवनियुक्त निर्देशक, दुई शिक्षक र एक चालकको मृत्यु भएको छ। चालकबाहेक सबै चिनियाँ नागरिक हुन्।

यो आक्रमण चिनियाँ नागरिकमाथि लक्षित गरेर भएको नियोजित आक्रमण भएको आशंका गरिएको छ। यसअघि पनि चिनियाँ इन्जिनियरलाई लक्षित गरेर पाकिस्तानमा आक्रमण भएको थियो।

गतववर्ष कोहिस्तान क्षेत्रमा गुडिरहेको बसमा बम आक्रमण हुँदा ९ चिनियाँ इन्जिनियरसहित १३ जनाको मृत्यु भएको थियो।

यो घटनापछि चीन रुष्ट बनेको छ। चीनले पाकिस्तानमा चिनियाँ नागरिक लक्षित आक्रमण भइरहँदा त्यहाँको सरकारले अपराधी पत्ता लगाउन नसकेको भन्दै दोषीलाई पत्ता लगाएर तत्काल कडा कारवाही गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्