काठमाडौं । अकुपाईं टुंडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चको सरसफाई गरिएको छ ।
अभियानको छैठौँ हप्तामा ‘सफा, स्वच्छ खुला मञ्च कायम गरौँ : खुला मञ्चको फोहोर कसिंगर जरै देखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो ।
टुंडिखेल टुंडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन भएको काठमाडौं महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीले बताउनुभयो ।
अकुपाईं टुंडिखेल अभियान कसैको विरोध वा समर्थनमा नभएको उहाँको भनाई छ ।
वडाध्यक्ष खड्गीले सम्बन्धित वडाध्यक्षहरुलाई आ—आफ्नो क्षेत्रमा सरसफाई गर्न मेयरले निर्देशन दिनुपर्नेमा अभियानका बारेमा गलत टिप्पणी गर्न नमिल्ने बताउनुभयो ।
अकुपाई टुंडिखेल अभियानका अभियान्ता सुशन वैद्यले खुल्लामञ्च महानगरको एकलौटी सम्पत्ति नभएको बताउनुभएको छ ।
सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै उहाँले तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउन नमिल्ने बताउनुभयो ।
अकुपाईं टुंडिखेल अभियान अन्तर्गत यसअघि टुंडिखेलको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा राजनीतिक महत्वमाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालन भएका थिए।
टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन गरिएपछि यसको विरुद्धमा अभियान सञ्चालन गरिएको हो ।
अभियान विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आगाडी ६ हप्तासम्म अझै जारी रहनेछ ।