अमेरिकासँग टर्कीको गुनासोः भारतले रुसबाट हतियार किन्दा केही भनेन, हाम्रो चाहीँ विरोध गर्छ

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : ३९


काठमाडौं। रुसबाट हतियार खरिद गर्ने विषयमा टर्कीले अमेरिकाको आलोचना गरेको छ।

भारतले रुसबाट हतियार खरिद गर्दा अमेरिका चुप बसेको र आफूले रुसबाट हतियार खरिद गर्दा उसले त्यसको विरोध गरेको टर्कीको गुनासो रहेको छ।

रुसले युक्रेनमा आक्रमण थालेको तेस्रो महिनामा प्रवेश गरेको छ। यसबीचमा अमेरिका लगायत पश्चिमा राष्ट्रले रुसी सामग्री केही पनि खरिद नगर्न विश्वभरका मूलुकलाई आग्रह गर्दै आएका छन्।

तर भारतले भने रुसको आलोचना गरेको छैन र त्यहाँबाट हतियार र तेल–ग्यासजन्य पदार्थ खरिद गर्न छाडेको छैन।

युद्ध सुरु हुनुपूर्व नै भारतले रुसबाट हतियार खरिद गर्दथ्यो। टर्कीले पनि पहिल्यैबाट रुसको एस–४०० एअर डिफेन्स मिसाइल सिस्टम खरिद गर्न खोजिरहेको थियो।

तर अमेरिकाले रुसबाट हतियार खरिद नगर्न दबाब दिएपछि टर्की अमेरिकासँग चिढिएको हो। उसले भारतको लागि सोही विषयमा चुप बसेर आफूलाई भने दबाब दिएकोमा असन्तुष्टि व्यक्त गरिरहेको छ।

टर्कीले सन् २०१८ मै सो हतियार रुसबाट खरिद गर्ने सम्झौता गरेको थियो। खबरअनुसार एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले ड्रोन हमला, क्षेप्यास्त्र प्रहार, रकेट तथा लडाकु जेटको आक्रमणलाई विफल बनाउन मद्दत गर्दछ।


प्रतिक्रिया दिनुहोस्