काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आज मंगलबार रुसका राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गर्दैछन्।
पुटिन भेट्न गुटेर्रेस रुसको राजधानी मस्कोमा आज पुग्ने बीबीसीले जनाएको छ।
खबरअनुसार पुटिन र गुटेर्रेसबीचको भेटघाट युक्रेनी शहर मारियुपोलको विषयमा केन्द्रित हुनेछ।
सो युक्रेनी क्षेत्र रुसी कब्जामा गएको छ, यद्यपी त्यहाँ युक्रेनी हजारौं सेना र सर्वसाधारण फसेको बताइन्छ।
युक्रेनले राष्ट्रसंघसँग मारियुपोलका सर्वसाधारणको सुरक्षाको ग्यारेन्टीको माग गरेपछि गुटेर्रेस रुस जाने भएका हुन्।
रुसपछि गुटेर्रेस युक्रेन जाने कार्यक्रम पनि रहेको छ। हालैमात्र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्वयुद्धको खतरा बढेको पनि उल्लेख गरेका थिए।
पश्चिमा राष्ट्रले युक्रेन मामिलामा हस्तक्षेप गरेको र युद्धको समय थप ढकेलिएको पनि रुसको आरोप छ। पश्चिमा राष्ट्रले लगातार युक्रेनलाई रुसविरुद्ध लड्न हतियार दिइरहेको छ।