अटेरी किम जङ–उनद्वारा परमाणु हतियार कार्यक्रमलाई थप तीव्रता दिने वाचा

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : २३


काठमाडौं। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले देशको आणविक तथा परमाणु हतियार कार्यक्रमलाई थप तीव्रता दिने वाचा गरेका छन्

सोमबार राति सम्पन्न सैन्य परेडमा किमले संयुक्त राष्ट्रसंघको नियम तथा अमेरिकासँगको सम्झौतालाई अटेर गर्दै परमाणु कार्यक्रमलाई बढावा दिने सार्वजनिक वक्तव्य दिएका हुन्।

बीबीसीका अनुसार उत्तर कोरियाको सशस्त्र बलको स्थापना दिवसमा सो सैन्य परेड आयोजना गरिएको थियो। परेडमा अन्तरमहादेशीय क्षेप्यास्त्र र अन्य शक्तिशाली हतियारहरु प्रदर्शन गरिएको थियो।

उत्तर कोरियाले गत मार्चमा परमाणु क्षमताको शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो। सन् २०१७ पछि पहिलोपटक उत्तरले त्यस्तो हतियारको परीक्षण गरेको थियो।

सो हतियार परमाणु क्षमताका हुन्छन् र अमेरिकी भूमिसम्मै पुग्नसक्ने दाबी गरिएको छ। त्यस्तो हतियार परीक्षण गरेको भन्दै अमेरिकाले उत्तर कोरियामाथि कडा आर्थिक प्रतिबन्धहरुको घोषणा गरेको छ।

तर अमेरिका र संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र नियमले किम जङलाई केही फरक परेको छैन।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार सर्वोच्च नेता किमले भनेका छन्,‘हामीले हाम्रो राष्ट्रको आणविक क्षमतालाई तीव्र गतिमा सुदृढ र विकास गर्नका लागि सक्दो कदमहरू चाल्नेछौं।’

सन् २०१८ र २०१९ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच दुईपटक शिखर वार्ता भएको थियो। पहिलोवार्तामा उत्तर कोरियाले परमाणु कार्यक्रम त्याग्ने वाचा गरेको थियो।

त्यसपछि उत्तर कोरियाले कुनै पनि हतियार परीक्षण गरेको थिएन। यद्यपी ट्रम्पले उत्तर कोरियाको माग पुरा गरेनन्। दोस्रो वार्तामा किमले आफ्नो देशमाथि लगाइएको सबै प्रतिबन्धात्मक नियम हट्नुपर्छ भनेको थियो। ट्रम्प किमको माग पुरा गर्न असमर्थ भएपछि उत्तर कोरियाले फेरि परमाणु हतियार विकास गर्न थालेको छ।

बिना सर्त नै उत्तर कोरियाले हतियार कार्यक्रम त्यागोस् भन्ने पक्षमा अमेरिका छ। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्