वासिङ्टन : योगले मस्तिष्कलाई फाइदा पु-याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ। मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पु-याउने देखिएको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ।
‘ब्रेन प्लाष्टिसिटी’ एक जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा ११ प्रतिवेदन समावेश गरिएको छ। अध्ययनमा योग र मस्तिष्क स्वास्थ्यको अन्तरसम्वन्धलाई मुख्यरूपमा हेरिएको अध्ययनकर्ताहरूले जनाएका छन्।अध्ययनमध्ये पाँच अध्ययन योगको कुनै अभ्यास नै नगरेका व्यक्तिको बारेमा रहेको छ । त्यसमा उनीहरूको मस्तिष्क विकासको सुरुदेखि अन्तिमसम्मको अवस्थाको तुलनात्मक अध्ययन गरिएको छ।
त्यसैगरी अर्को अध्ययनमा नियमित रुपमा योगा गर्ने व्यक्ति र उसको मस्तिष्कको विकासको अवस्थाका बारेमा अध्ययन गरिएको छ। अध्ययनका क्रममा ती व्यक्तिहरूको मस्तिष्कको एमआरआई, फङ्सनल एमआरआई वा फोटोबाट पनि मस्तिष्कको वृद्धि विकासको अध्ययन गरिएको थियो। “हामीले गरेको ११ ओटा अध्ययनबाट यो निश्कर्ष निकालेका छौँ की मानव मस्तिष्कको बृद्धि विकासमा योगको महत्वपूर्ण भूमिका रहन्छ,” अध्ययनको नेतृत्व गर्नुभएका नेहा गोथेले भन्नुभयो ।
‘युनिभर्सिटी अफ इलिनोइस किनेसिओलोजी एण्ड कम्युनिटी’का स्वास्थ्य प्राध्यापक नेहाले ‘वायन स्टेट युनिभर्सिटी’का मनोविज्ञान प्राध्यापक जेसिका दामोइसियक्ससँगले अध्ययनको नेतृत्व गर्नुभएको हो।“यससम्वन्धी धेरै अध्ययन भएपनि नियमित योग र मस्तिष्कको विकासको अन्तरसम्बन्धको गहिरो अध्ययन भएको थिएन, तर यो अध्ययनले त्यसलाई जोड दिएको छ,” दामोइसियक्सले भन्नुभयो। नियमित योग गर्नाले दिमागको सक्रियतालाई व्यवस्थित गर्न सहयोग पुग्ने देखिएको अध्ययनले बताएको छ ।
योग नगर्नेभन्दा योग गर्नेको दिमाग बढी चलायमान हुने भएकाले बृद्धि र विकासमा सहयोग पुगेको अध्ययनको निष्कर्ष छ ।“योग कुनै बाहिरी कसरत मात्रै होइन, यो त दिमाग परिवर्तन गराउने अर्कै नेतृत्वदायी संयन्त्र हो,” नेहाले भन्नुभयो । तर त्यस्तो संयन्त्रको कुनै पहिचान र प्रमाण भने आफुहरूसँग नभएको पनि उहाँले उल्लेख गर्नुभयो । योगले मानिसको तनाव व्यवस्थापन तथा न्युनिकरण गर्न सहयोग पु-याउने आफूहरूको अध्ययनबाट देखिएको गोथेले बताउनुभयो ।