रासस/एएनआई। अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ।
अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गर्नु भएको छ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि आफ्नालागि किभ असुरक्षित रहेको भन्दै अमेरिकाले दूतावासका सबै कर्मचारीहरुलाई फिर्ता बोलाउदै दूतावास अनिश्चितकालका लागि बन्द गराएको थियो।
अहिले भने युक्रेनलाई थप सहयोगको आवश्यकता परेको र त्यसका लागि दूतावासमार्फत गर्नु पर्ने भएकाले दूतावास खोल्न लागिएको अमेरिकी अधिकारीहरुको भनाई छ।
अमेरिकाले युक्रेनलाई विभिन्न आधुनिक हतियार र नगद समेत सहयोग दिने घोषणा गरिसकेको छ। केही सहयोग भने यसअघि देखि नै दिदै आएको थियो।
दुई महिना हुँदा पनि रुसले आक्रमण नरोकेपछि अमेरिकाले थप सहयोग गर्ने निश्कर्ष निकाल्दै दूतावास फेरि सञ्चालन गर्ने तयारी गरेको बताइएको छ।
रुसले युक्रेनमा गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको छ। आक्रमणका कारण सयौँको मृत्यु भएको छ भने अरु कैयौ घाइते भएका छन्। त्यसैगरी हजारौँ विस्थापित भएका छन्।
दुई पक्षीय भिडन्तका कारण युक्रेनलाई ठूलो भौतिक तथा आर्थिक क्षति पनि भएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वकै आर्थिक तथा राजनीतिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ।