कविता भन्दै माओवादी पूर्वलडाकुहरु ‘कम्ब्याट कविता २०७६’मा

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : २९


दाङ । साहित्य, कला र संगीतको क्षेत्रमा काम गर्दै आएको उदाहरण समूह, नेपालले शनिबार कम्ब्याट कविता २०७६ आयोजना गर्ने भएको छ । कार्यक्रममा युद्ध साहित्यको लोकप्रिय विधा कवितामा छलफल र वाचन कार्यक्रम हुने बताइएको छ । 

नेपाली जनयुद्धको क्रममा हतियारसँगसँगै साहित्यको कविता विधामा कलम चलाउँदै आएका पूर्वलडाकुहरुको कविता सुनाउने उदाहरण समूह, नेपालका नवीन अभिलाषीले बताउनुभयो ।

दुई चरणमा हुने कार्यक्रमअन्र्तगत पहिलो चरणमा युद्ध, कविता र सपना शीर्षकमा त्यस विषयका जानकार खेम बुढा बोल्ने बताइएको छ । २०५२ सालदेखि सुरु भई १० वर्ष चलेको जनयुद्ध, त्यसले सिर्जना गरेका तमाम विषय, त्यस समयमा लेखिएका कविता र अहिलेको राजनीतिक पृष्ठभूमिले निर्देशन गरेको मार्गचित्रका बारेमा बुढाले जानकारी गराउनु हुने कार्यक्रम रहेको छ ।

कार्यक्रमको दोस्रो चरणमा जनयुद्ध लड्दै कविता लेख्दै गरेका प्रतिनिधि ४ जना पूर्वलडाकुहरुले कविता वाचन गर्नु हुनेछ । उहाँहरुका केही कविताहरुमा भिडियो समेत निर्माण गरिएको जानकारी दिँदै ती कविताहरुसमेत प्रस्तुत गरिने बताउनुभयो । 

युद्ध साहित्यको विकास र प्रचारप्रसारका लागि टेवा पु¥याउने उद्देश्यले आयोजना गर्न थालिएको अभिलाषीले बताउनुभयो । कार्यक्रममा पूर्वलडाकुहरु समेत उपस्थित हुने छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र शनिबार बिहान ११ः३० बजे घोराहीको डोको होटलमा कार्यक्रम हुने आयोजकले बताएको छ ।
 


प्रतिक्रिया दिनुहोस्